श्रीलंकामा सुरक्षाकर्मी र आतंककारीबिच भिडन्त, १९ जनाको मृत्यु

काठमाडौं । श्रीलंकामा आतंककारी र सुरक्षाकर्मीबीच भिडन्त हुँदा कम्तिमा १९ जनाको ज्यान गएको छ ।

शनिबार बिहानै श्रीलंकाको पूर्वी सहर सैन्थामारुथुको एउटा घरमा सुरक्षाकर्मी र आतंककारीबीच भिडन्त हुँदा कम्तीमा १९ जनाको ज्यान गएको हो । एउटा घरमा आतंककारीहरू लुकेर बसेको सुचनाको अधारमा त्यहा पुगेको सुरक्षाकर्मीको टोलीले छापा मारेपछि भिडन्त हुदा उक्त घटना भएको श्रीलंकालि सञ्चार माध्यमहरुले जनाएका छन् । साथै छापा मार्ने क्रममा भएको भिडन्तकै क्रममा ४ जना मारिएको सेनाका प्रवक्ता सुमिथ अट्टापटुले सञ्चार माध्यमहरूलाई जानकारी दिए ।

आतंककारीको घेरा तोडेर सुरक्षाकर्मी भित्र पस्न खोज्दा उनीहरूले घरभित्रै आत्मघाती बम विस्फोट गराएको समेत सेनाले जनाएको छ। उक्त विस्फोटमा परी घरभित्र थप १५ जनाको पनि मृत्यु भएको सेनाले पुष्टि गरेको छ। विस्फोटपछि पनि घरभित्र सेनाले थुप्रै विस्फोटक पदार्थ तथा आत्मघाती विस्फोट गर्न सहयोग पुग्ने ‘भेष्ट’हरू भेटेको थियो।

गत आइतबार श्रीलंकाका होटल तथा चर्चहरूमा भएका श्रृंखलाबद्ध विस्फोटमा परी २५० भन्दा बढीको ज्यान गएको थियो। उक्त आक्रमणको अन्तर्राष्ट्रिय आतंककारी संगठन आइएसले जिम्मा लिएको थियो।

आइएसको सहयोग र दुई स्थानीय संगठनको संलग्ननतामा उक्त विस्फोट गराइएको श्रीलंका सुरक्षा अधिकारीहरूले जनाएका छन्। ती दुवै संगठनमाथि श्रीलंकाले प्रतिबन्ध लगाइसकेको छ।

अहिले थप आतकंकारीको खोजीमा सुरक्षा फौजले देशैभर खानतलासलाई तीव्र बनाएको छ। आतंकारीहरू अझै लुकेर बसेको हुनसक्ने अनुमान गरिएको छ। देशभर नै संकटकाल घोषणा गरेर कर्फ्यू जारी गरिएको छ।

Comments