सरकार ! बालुवाटार जग्गा प्रकरणमा देउवा दोषि भए तत्काल कारवाही गर–प्रकाशमान

संखुवासभा । नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले बालुवाटार जग्गा प्रकरणमा सभापति शेरबहादुर देउवाको संलग्नता भेटिए तत्काल कारवाही गर्न सरकारलाई आग्रह गरेका छन् ।

मंगलबार संखुवासभा पुगेका नेता सिंहले अपराज जसले गरेको भएपनि अपराध नै हुने बताउँदै आफ्नै पार्टीका सभापतिको संलग्नता भएपनि कारवाही गर्न माग गरेका छन् । ‘अपराध गरे कांग्रेसले छुट पाउनु पर्छ भन्ने छैन’ प्रकाशमानले भने ‘कांग्रेसका नेता वा कुनै पार्टीका होउन्, निष्पक्ष छानविन गरेर कानुन बमोजिम सजायँ दिनुपर्छ ।’

उनले सरकार दम्भकारी भएको बताए । नेकपाको सरकारले समकक्षी पार्टीसँग मात्र नभई संविधान र कानुनसँग पनि खेलवाड गरेको नेता सिंहले बताए । ‘सरकारसँग दुई तिहाई बहुमत छ, संविधान केही होइन, कानुन केही होइन, भनेर रवैया देखाइरहेको छ, यो लोकतान्त्रिक चरित्र होइन’ उनले भने ।

नेपाली कांग्रेसको राष्ट्रिय जागरण अभियानका लागि नेता सिंह पूर्वी नेपाल पुगेका हुन् ।

Comments