भारतमा चौथो चरणको मतदान जारी, बिहारको बेगुसराय निर्वाचन क्षेत्र चर्चामा

नयाँदिल्ली । भारतको तल्लो सदन लोकसभाका लागि चौथो चरणको मतदान आज पनि जारी रहेको छ । भारतीय निर्वाचन आयोगका अनुसार ९ वटा राज्यका ७१ स्थानका लागि सोमबार मतदान भइरहेको छ ।

निर्वाचन आयोगका अनुसार, चौथो चरणको निर्वाचनमा १२ करोड ७९ लाख मतदाता रहेका र उनीहरुले ९४५ जना उम्मेदवारको भाग्यको फैसला गर्नेछन् । तर कडा प्रतिस्पर्धा हुने भएको छ । भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीले आमजनतालाई ट्वीटर मार्फत मतदानमा सक्रिय सहभागी हुन आह्वान गरेका छन् । उनले युवावर्गले मतदानमा भाग लिएर मुलुकको भाग्य बदल्न विशेष भूमिका खेल्नुपर्नेमा जोड दिएका छन् ।

यता भारतीय कम्युनिष्ट पार्टीका तर्फबाट युवानेता एवं प्रखर वक्ता कन्हैया कुमारले आमजनतालाई ट्वीटर मार्फत मतदान गर्नु नागरिकको कर्तव्य भएको बताएका छन् । उनले देश विकासको सहि दिशा हामीलाई ठुलो संघर्ष मार्फत दिएको बताए । राजनीतिले हाम्रो जीवनका सबै पक्षहरूलाई प्रभाव पार्ने भएकाले ढुक्क भएर मतदानमा सहभागी हुन् अपिल गरेका छन् ।

बिहारको बेगुुसराय निर्वाचन क्षेत्र निकै चर्चामा रहेको छ । उक्त क्षेत्रमा भारतीय कम्युनिष्ट पार्टीका तर्फबाट युवानेता एवं प्रखर वक्ता कन्हैया कुमार र भारतीय केन्द्रीय मन्त्री गिरिराज सिंह तथा आरजेडीका तनवीर हस्सनबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । सुप्रसिद्ध बलिउड कलाकारहरु जाभेद अख्तर, शबाना आज्मी, स्वारा भास्कर र प्रकाश राज समेत कन्हैयाका पक्षमा चुनावी प्रचारमा बेगुसरायमा छन् । त्यसैले पनि त्यो क्षेत्रमा रोचक प्रतिस्पर्धा हुने आकलन गरिएको हो ।

मतदानका क्रममा सामान्य हिंसाका घटना भएको सञ्चार माध्यमहरुले जनाएका छन् । तर समग्रमा चुनाव शान्तिपूर्ण रुपमा भइरहेको भारतिय प्रहरी प्रशासनले जनाएको छ । निर्वाचन आयोगका अनुसार, बिहारमा पाँच, जम्मु काश्मिरमा एक, झारखण्डमा तीन, मध्यप्रदेश र उडिसामा ६–६, महाराष्ट्रमा १७, राजस्थान र उत्तर प्रदेशमा १२–१२ तथा पश्चिम बंगालमा आठ स्थानमा चुनाव हुँदैछ ।

सात चरणको चुनाव सम्पन्न भएपछि मे २३ मा मतगणना हुनेछ ।

Comments