बालुवाटार प्रकरणमा कांग्रेसको स्पष्टिकरण: दोषि को हो जगजाहेर छ

काठमाडौं । नेपाली कांग्रेसले बालुवाटार जग्गा प्रकरणमा तथ्यलाई बग्याउन खोजिएको भन्दै आपत्ति जनाएको छ । कांग्रेसले सत्य तथ्य छानबिन गरि दोषिलाई कारबाहिको माग समेत गरेको छ ।

मंगलबार एक विज्ञप्ति जारी गर्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बालुवाटार जग्गा प्रकरणका विषयमा गहिरो छानविन गरेर दोषिलाई कारबाहि गर्न माग गरेका हुन् । ‘बालुवाटारको सरकारी जग्गा व्यक्तिका नाममा दर्ता भएको गम्भीर विषयप्रति नेपाली कांग्रेसले सार्वजनिक रुपमा आपक्ति व्यक्त गर्दै आएको तथ्य सर्वविदितै छ’, विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘वैशाख २५ बाट शुरू हुने ‘राष्ट्रिय जागरण अभियान’मा यस्ता सबै खाले विसंगतिका विरुद्ध राष्ट्रव्यापी रुपमा आवाज घनिभूत तुल्याइदैछ ।’

जग्गा प्रकरणबारे स्वयं सभापति शेरबहादुर देउवाले १६ गतेको प्रतिनिधिसभाको बैठकमा कडा अभिमत व्यक्त गरिसकेको शर्माको दाबी छ । उनले विज्ञप्तिमा लेखेका छन्, ‘नेपाली कांग्रेस सो प्रकरणको गहिरो छानवीन गरेर दोषीलाई दण्डित गरिनुपर्ने विषयमा एकमतका साथ प्रष्ट रहेको धारणा दोहोर्याउन चाहन्छ ।’

बालुवाटारको जग्गा कसको नाममा कसरी पुग्यो भन्नेबारेमा सार्वजनिक भइसकेको शर्माले दाबी गरे । ‘तथ्यको जगमा सत्यको खोजी र दोषीमाथि कारवाहीका लागि आम नागरिकको सजगता, संचार माध्यमको निष्पक्ष प्रखरता, अनुसन्धानकर्मीको इमानदारीतासँगै प्रतिपक्षको दबाब र सरकारको ईमान्दार विवेक यतिबेला परिक्षाको कसीमा छ’, शर्माले विज्ञप्तिमार्फत भनेका छन्, ‘नेपाली कांग्रेस बालुवाटार जग्गा प्रकरणमा गहिरो र गम्भीर छानबिनका साथ कुनैपनि मोलाहिजा बेगर दोषीमाथि कारवाहीको माग पुन दोहोर्याउन चाहन्छ ।’

बालुवाटार जग्गा प्रकरणमा कांग्रेस सभापति देउवाको पनि संलग्नता रहेको समाचार विभिन्न सञ्चार माध्यहरुबाट बाहिएपछि प्रवक्ता शर्माले मंगलबार एक विज्ञप्ति मार्फत स्पष्टिकरण दिएका हुन् ।

 

Comments