सरकारले अबको बजेटमा वृद्ध भक्ता पाँच हजार पुर्‍याउछ- मन्त्री पोखरेल

भीमदत्तनगर । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले आगामी वर्षको नयाँ बजेटमा ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता बढाइने बताएका छन् ।

आइतबार कञ्चनपुरको वेदकोट नगरपालिकाको चौथो नगरसभा तथा नवनिर्मित कार्यालय भवनको उद्घाटन गर्दै उपप्रधान एवं रक्षामन्त्री पोख्ररेलले ज्येष्ठ नागरिकको भत्ता प्रतिव्यक्ति मासिक रु पाँच हजार पु¥याइने बताए ।

“ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत स्वास्थ्य बीमा समेत गरिएको छ”, रक्षामन्त्री पोखरेलले भने, “सामाजिक सुरक्षाभत्ता सरकारले घटाउँदै छ भनेर गलत प्रचारबाजी गरिएको छ ।” उनले वर्तमान सरकार कानून र विशेष नीति निर्माणमा लागेको बताउँदै चालु वर्षमा समृद्धिको तस्बीर खडा गर्न सरकार लागि परेको समेत बताए ।

“हिजोका दिनमा सरकार मात्रै फेरिन्थ्यो”, मन्त्री पोखरेलले भने, “अहिले प्रणाली फेरिएको छ ।”उनले कृषि, जलस्रोत, उद्योग स्थापना र पर्यटनको विकास नै समृद्धिको मुख्य आधार भएको बताए । “जनप्रतिनिधिले जनताको मन बुझेर काम गर्नुपर्छ”, उनले भने, “जनताको निगरानीमा रहेर काम गर्नुपर्ने बेला आएको छ ।” कञ्चनपुरको दैजी छेला औद्योगिक क्षेत्र र दैजी–जोगबुढा सडक निर्माणका विषयमा आफूले पहल गर्ने मन्त्री पोखरेलले वचनसमेत दिए ।

भू–उपयोग नीति बदल्न आवश्यक रहेको बताउँदै मन्त्री पोखरेलले अधिकार स्थानीय तहसम्म आइसकेकाले हरेक विषयमा केन्द्रसित मुख ताक्नुभन्दा पनि अहिले पाएको अधिकार बमोजिम काम गर्न जोड दिए ।

नगरसभासँगै मन्त्री पोखरेलले नगरपालिकाको नवनिर्मित भवन उद्घाटन समेत गरेका थिए ।

Comments