झाडा पखाला प्रभावित क्षेत्रमा खानेपानी मन्त्रीको निर्देशनमा ‘वाटर एम्बुलेन्स’ पठाइयो

काठमाडौं । खानेपानी मन्त्री बिना मगरको निर्देशनमा झाडा पखाला प्रभावित क्षेत्रमा पिउने पानी शुद्धीकरण जाँच गर्नका लागि पानी परीक्षण घुम्ती सेवा (वाटर एम्बुलेन्स) पठाइएको छ ।

मन्त्री मगरको निर्देशन लगतै खानेपानी तथा ढल व्यवस्थापन विभागले गुल्मीको मुसिकोट नगरपालिका वडा नं. ४ स्थित दजाकोट क्षेत्रमा पिउने पानी शुद्धीकरण जाँच गर्नका लागि पानी परीक्षण घुम्ती सेवा पठाएको हो । झाडापखाला प्रभावित क्षेत्रमा दूषित पानीका कारण रोगव्याधिको प्रकोप फैलिन नदिन खानेपानी मन्त्री मगरको निर्देशनमा विभागले पानी शुद्धीकरण चेक गर्ने आधुनिक उपकरणसहितको वाटर एम्बुलेन्स त्यसतर्फ पठाएको बताइएको छ ।

पानी शुद्धीकरण गर्ने पियुष, एक्वा ट्याब र ब्लिचिङ पाउडरलगायतका सामग्रीहरु बोकेर विभागको विज्ञ टोली दजाकोट गएको छ । स्थलगत रुपमै पानीको गुणस्तर जाँची पिउन हुने या नहुने भन्ने कुरा वाटर एम्बुलेन्सबाट थाहा हुन्छ । वाटर एम्बुलेन्समा आधुनिक प्रविधिको ल्याब जडान गरिएको हुन्छ । त्यस ल्याबको माध्यमबाट पानीको गुणस्तर चेक जाँच गरिन्छ ।

केही दिनदेखि झाडापखाला फैलिएका कारण गुल्मीको दजाकोटमा एक जनाको मृत्यु भएको छ भने करिब २ सय मानिसहरु बिरामी परेका छन् । त्यहाँको खानेपानीमा कोलिफर्म भएको बताइएको छ । दूषित पानीका कारण सिंगो गाउँकै जनजीवन प्रभावित भएको छ ।

ज्वरो आउने, पखाला लाग्ने तथा टाउको दुख्नेलगायतका समस्याले दजाकोटमा महामारी फैलिएको छ । त्यस क्षेत्रको पानीको मुहानमा धेरै कोलिफर्म भेटिएकाले झाडा पखालाको प्रकोप बढेको विज्ञहरुको भनाइ छ ।

Comments