बालुवाटार जग्गा प्रकरणमा संलग्नता देखियो भने, दण्ड स्वीकार्न तयार छु- बाबुराम भट्टराई

काठमाडौं । नयाँ शक्ति पार्टी नेपालका संयोजक बाबुराम भट्टराईले बालुवाटारको जग्गा प्रकरणमा आफ्नो नियतवश संगलग्नता भेटिए दण्ड स्वीकार गर्न तयार रहेको बताएका छन् ।

सोमबारदेखि शुरु भएको बजेट अधिवेशनलाई सम्बोधन गर्दै भट्टराईले बालुवाटारको सार्वजनिक जग्गाबारे एकअर्कालाई आरोप प्रत्यारोप भन्दा जरो पत्ता लगाउनुपर्ने बताए। तुलनात्मक रुपमा स्वच्छ छवि भएका प्रधानमन्त्रीहरु नै बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा मुछिएको भन्दै भट्टराईले यसको जरासम्म पुग्ने गरी छानबिन हुनुपर्ने बताएका छन् । ‘नियतमात्र ठीक भएर हुँदो रहनेछ, हाम्रो संस्थाहरु कति बेकम्मा रहेछ ?’ उनले भने नियतवश संलग्नता देखियो भने म दण्ड स्वीकार्न तयार छु ।’

ललिता निवासको जग्गामा एक अर्कालाई आरोप प्रत्यारोप गरेर मात्र समस्या समाधान नहुने भन्दै यस विषयमा गम्भीरतापूर्वक छानबिन गर्नुपर्ने उनको भनाइ छ । ‘तपाईं हामी एक अर्कालाई आरोप प्रत्यारोप गर्ने हो भने यो समस्या बल्झेर आइरहन्छ’ उनले प्रश्न गरे, ‘यसलाई हामीले एकले अर्कोको कोटमा फ्याँकेर समस्या समाधान हुन्छ ?’

भट्टराईले तारागाउँदेखि ललिता निवास (बालुवाटार) सम्म गम्भीरता पूर्वक छानविन हुनुपर्ने बताए। ‘हामी मध्ये जो कसैले गलत गरेको रहेछ भने दण्ड दिइयोस्’ भट्टराईले भने।

उनले वाइडबडी जहाज खरिद प्रकरण, बुढीगण्डकीदेखि ललिता निवासको विषयमा छानविन हुनुपर्ने धारणा राखे।

Comments