अख्तियारद्वारा विमानस्थलका अपरेटरविरुद्ध १४ करोडको भ्रष्टाचार मुद्दा दायर

काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३३ किलो सुन तस्करी प्रकरणमा मुछिएका विमानस्थलका अपरेटरविरुद्ध १४ करोडको भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अनुसन्धान गर्दै जाँदा त्रिभुवन विमानस्थलका रेडियो अपरेटर श्यामकृष्ण च्वामु श्रेष्ठसँग १४ करोडभन्दा बढी गैरकानुनी सम्पत्ति भएको पाइएपछि अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अख्तियारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, भन्सार कार्यालय, काठमाडौंबाट अवैध रुपमा ३३ किलो सुन तस्करीको अभियोगको अनुसन्धान कारबाहीको सिलसिलामा निलम्बनमा रहेका श्रेष्ठसँग सो सम्पत्ति रहेको जनाएको छ । श्रेष्ठले गैरकानूनी सम्पत्ति आर्जन गरेको भनी अख्तियारमा उजुरीपरेपछि अनुसन्धान गरिएको थियो ।

अनुसन्धानबाट श्रेष्ठले सार्वजनिक सेवा प्रवेश गरे पश्चातको समग्र आय व्ययको विश्लेषण गर्दा १४ करोड भन्दा बढी रकम गैरकानुनी तरिकाले आर्जन गरिएको देखिएको अख्तियारले जनाएको छ। आयोगले उनीविरुद्ध १४ करोड ६१ लाख विगो दाबी गर्दै मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको छ।

Comments