स्ववियु निर्वाचनबाट नेविसंघ भाग्न खोज्यो- तामाङ, हामी निर्वाचनबाट भाग्दैनौं- महर

काठमाडौं । अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले पराजय भोग्ने डरले नेविसंघले चुनाव नचाहेको आरोप लगाएका छन् ।उनले नेविसंघले कृत्रिम मुद्दा उचालेर र यो वा त्यो बहाना बनाएर स्ववियु निर्वाचनबाट भाग्न लागेको आरोप लगाउदै भने, ‘तिललाइ पहाड नबनाउनुहोस् । म फेरि पनि दोहोर्याएर भन्छु स्ववियुको निर्वाचन निर्धारित मितिमा हुनुपर्छ ।’

मंगलबार रिपोर्टर्स क्लबमा भएको साक्षात्कार कार्यक्रममा अध्यक्ष तामाङले स्ववियुको निर्वाचन हुन नसक्दा स्ववियुको चरित्रमाथि नै आघात पुगेको समेत बताए । उनले स्ववियुको निर्वाचन निर्धारित मितिमै सम्पन्न गर्नुपर्ने बताउदै भने, ,‘निर्धारित मितिमै स्ववियुको निर्वाचन जरुरी छ भन्ने हामी ठान्दछौं । त्यहीअनुरुप विश्वविद्यालयले पनि यही फागुण १४ गते स्ववियुको निर्वाचन गर्नेगरि तयारी गरेको छ ।’

स्ववियु निर्वाचन निर्धारित मितिमा हुन नसके यो वर्ष निर्वाचन गर्न निकै कठिन हुनेपनि उनले तर्क गरे । अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारी मिलेको भय नेविसंघमा देखिएको सुनाउँदै तामाङले भने,‘कुनैपनि बहानामा स्ववियुको निर्वाचन स्थगित गर्नुहुँदैन् ।’  आफूहरु दुई संगठन मिल्दा भय हुने हो भने फागुण १४ गतेसम्म आफूहरु एकता नगर्नपनि तयार रहेको उनले बताए ।

हामी निर्वाचनबाट भाग्दैनौं: महर

यसै बिच अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले पराजय भोग्ने डरले नेविसंघले चुनाव नचाहेको आरोप लगाइरहेकै बेला नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले स्ववियु निर्वाचनमा आफ्नो संगठनको रगतको साइनो भएकोले स्ववियु निर्वाचनबाट नभाग्ने स्पष्ट पारेका छन् ।अध्यक्ष महरले आफूहरु निर्वाचनबाट कुनैपनि हालतमा नभाग्ने जिकिर गर्दै भने, ‘तर, सरकारले स्ववियु निर्वाचनको वातावरण बनाउनुपर्छ । त्यतातिर सरकारले पर्याप्त ध्यान दिओस् , हामस् भने निर्वाचनबाट भाग्दैनौ।’

अध्यक्ष महरले नेविसंघलाई निर्वाचन जित्ने वा हार्ने कुराले कुनै फरक नपार्ने पनि दावि गरे । आफ्नो संगठनले एक महिना अघि नै स्ववियु निर्वाचन फागुण १४ गते गर्नेबारे विश्वविद्यालयलाई पत्राचार गरेर सहमति जनाईसकेको पनि महरले जनाए । उनले भने,‘अहिलेपनि हामी यो निर्णयमा कायमै छौं ।’

स्ववियु निर्वाचनमा नेविसंघलाई हराउने दुनियाँको कुनै तागद नभएको पनि उनले उद्धघोष गरे । उनले भने,‘हामी प्रजातान्त्रिक संगठन भएको कारणले प्रजातन्त्र भनेको नै निर्वाचन हो । त्यसकारण निर्वाचनबाट नेविसंघ भाग्दैन् । हामी भाग्दैनौं । हामी भाग्छौं भनेर कसैले कल्पना गरेको छ भने त्यो मिथ्यामात्रै हो ।’

Comments