पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईको जनसंवादमा नागरिकको उत्साहपूर्ण सहभागिता

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराले नेता कार्यकतासँगै उत्तरी पाँचथरको चिवाभञ्ज्याङबाट जनसंवाद अभियान शुरु गरेका छन् । एक महिना लामो जनसंवादको थालिनी १० हजार फिटको उचाइबाट गरेका भट्राइले चिवाभञ्ज्याङ, च्याङथापु, गणेश चोक र फिदिम बजारमा जनसंवाद गरेका छन् ।

मध्यपहाडी लोकमार्गका व्यापारिक केन्द्रमा भेटघाट, अन्तरक्रिया तथा छलफल गर्ने कार्यक्रम राखेका छन् । उनको जनसंवाद अभियानमा स्थानीयबासीहरु पनि रुचिपूर्वक सहभागि हुने गरेका छन् । देश गम्भिर डिप्रेशनतिर डोरिएको भन्दै भट्टराइले जनसंवाद अभियान थालेका हुन् ।

पाँचथरबाट अभियान थाल्दा भट्टराइले आफ्नो कार्यकालको सम्झना गरेका थिए । ‘२०५८ सालमा लोकमार्गको अवधारणा सुरु भएको थियो । यसलाई मैले अर्थमन्त्री हुँदा रातो किताबमा पारेको हुँ । पछि हिसिला यमी पूर्वाधारमन्त्री हुँदा थप काम भयो’ भट्टराइले भने ‘योजना पूर्ण नभए पनि काम भइराखेको देख्दा खुसी लाग्यो किनकी पुष्पलाल लोकमार्गसँग मेरो भावनात्मक सम्बन्ध छ ।’

२७ जिल्लाका करिब ९० स्थानमा जनसंवाद थाल्ने योजना बनाएका भट्टराई बुधबार दिनभर तेह्रथुम जिल्लाका विभिन्न स्थानमा कार्यक्रम गरिरहेका छन् । समावेशी विकास र असल राजनीति अभियानको लक्ष्य उनले लिएका छन् । भट्टराईको जनसम्वाद कार्यक्रममा स्थानीय नागरिकको राम्रो सहभागिता हुन थालेको छ । स्थानीयको सहभागिता राम्रो हुन थालेपछि भट्टराई पनि हौसियका छन् ।

Comments