चितवन । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिलाको सशक्तीकरणका निम्ति हिजो राज्यले गरेको विभेदको क्षतिपूर्तिका रुपमा समानुपातिक प्रतिनिधित्वको व्यवस्था संविधानमा गरिएको बताएका छन् ।
उनले आरक्षणले क्षमतामा अवरोध सिर्जना गर्ने भन्दै योग्यता विकास गर्न सुझाव दिए । प्रचण्डले पत्रकार महिलालाई इङ्गीत गर्दै भने, “तपाईंहरु नेतृत्व तहमा नै आउँदै हुनुहुन्छ, अध्यक्ष बन्नुपर्छ, त्यो अब महिला मुक्ति आन्दोलनका रुपमा लिनुपर्छ ।”
इतिहासको महत्वपूर्ण क्षणमा हामी रहेको भन्दै उनले भने, “हाम्रो अगाडि अवसर छ, धेरै वर्षको मेहनत र बलिदानबाट प्राप्त यो अवसरलाई सदुपयोग गर्नुपर्छ ।” सबै वर्ग, क्षेत्र, समुदायको एकता नभएको भए अहिलेको राजनीतिक परिवर्तन सम्भव नहुने भन्दै उनले यसलाई कार्यान्वयन गर्ने अहिलेको चुनौती रहेको समेत बताए ।
राष्ट्रको एकतालाई अझ मजबुद बनाउनुपर्ने भन्दै अध्यक्ष प्रचण्डले भने, “एकतालाई अझ मजबुत कसरी गर्ने, प्रगतिशील परिवर्तनलाई कसरी संस्थागतरुपले कार्यान्वयन गर्ने र समृद्धिको यात्रालाई कसरी अगाडि बढाउने भन्ने विषयमा सोच्ने बेला आएको छ ।”
Comments
Post a Comment