यूएईलाई हराउँदै कतार एसिया कप फुटबलको फाइनलमा

काठमाण्डौ । यूएईलाई पराजित गर्दै कतार एसिया कप फुटबलको फाइनलमा प्रवेश गर्दै इतिहास रचेको छ । मंगलबार भएको दोस्रो सेमिफाइनलमा घरेलु टोलीलाई ४–० गोल अन्तरले पराजित गर्दै कतार उपाधि नजिक पुगेको हो ।

युएईकाे मोहमद बिन जायद स्टेडियममा कतारलाई जीत दिलाउन बोउलम खोउखी, अल्मोइज अली, हसन अल हेदोस र हामिद स्माइलले एक एक गोल गरेका थिए । खेलको २२ औं मिनेटमा खोउखीले गोल गर्दै कतारलाई सुरुवाती अग्रता दिलाए । ३७ औं मिनेटमा अलीले गोल गरेपछि कतार पहिलो हाफमा २–० ले अघि रह्यो ।

खेलको ८० औं मिनेटमा हसनले गोल गर्दै कतारको अग्रता ३–० को बनाए । खेलको ९० औं मिनेटमा इस्माइल अहमदले रातो कार्ड पाएपछि युएई १० खेलाडीमा समेटियो । त्यसपछि खेलको इन्जुरी समयमा हामिदले गोल गर्दै कतारलाई ४–० को जीत दिलाए । यो संगै सन् २०२२ को विश्वकप आयोजक कतार पहिलो पटक एसिया कपको फाइनलमा पुगेको छ । अब कतारले उपाधिका लागि जापानसंग खेल्ने छ । सोमबार भएको पहिलो सेमिफाइनलमा इरानलाई ३–० गोल अन्तरले पराजित गर्दै जापान यस अघि नै फाइनलमा पुगिसकेको छ ।

Comments