विश्वबिजेता महेश्वरलाई प्रचण्डले दिए बधाई –मिस्टर युनिभर्समा तपाईलाई सहयोग गर्ने तयार छु

काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोडि बिल्डरमा विश्व विजेता बनेका खेलाडी महेश्वर महर्जनलाई बधाई दिँदै पार्टी र सरकारबाट सहयोग गर्ने बचन दिएका छन् । अन्तर्राष्ट्रिय शारीरिक सुगठन प्रतियोगितामा स्वर्ण पदक विजेता नेपाली खेलाडी महर्जनलाई आफ्नो र पार्टीको तर्फबाट सहयोग गर्ने बचन दिएका हुन् ।
‘तपाईंले उत्कृष्ट कौशल देखाएर नेपालीको शीर उच्च पार्नु भएको छ, हामीले गौरव महसुस गरेका छौ’ निवासमा भेट्न आएका महर्जनलाई आइतवार अध्यक्ष प्रचण्डले भने विश्वस्तरको प्रतियोगितामा नेपालका सफलताले हाम्रो शीर उच्च पारेको छ, पार्टी र सरकारका तर्फबाट तपाईलाई सहयोग हुन्छ ।’
थाइल्याण्डबाट स्वर्ण जितेपछि नेपाल आएका महर्जन आइतवार प्रचण्डलाई भेट्न खुमलटार पुगेका थिए । प्रचण्डले शारीरिक सुगठनमार्फत नेपालको नाम विश्वस्तरमा चिनाएको भन्दै बधाई दिएका थिए ।

महर्जनलाई भेटेपछि प्रचण्डले नेपालको समृद्धि र विकासमा खेल क्षेत्र र खेलाडीहरुको ठूलो भूमिका रहने बताए । पार्टी र सरकारका तर्फबाट खेल क्षेत्रलाई अझ विकास गराउन आफु प्रतिबद्ध रहेको उनले बताएका थिए । महर्जनले पनि व्यक्तिगत लगानी र प्रयासमा ७५ किलो तौल समूहमा स्वर्ण पदक जिते पनि यस क्षेत्रमा राज्यले नै सहयोगी वातावरण बनाइदिनुपर्ने बताए । उनले आगामी मिस्टर युनिभर्स प्रतियोगितामा भाग लिने इच्छा प्रचण्डसँग देखाउँदै सहयोग मागेका थिए ।

Comments