प्रचण्डमाथि गगन थापाको काउन्टर, कर्मचारीमाथि कांग्रेसको सहानुभुति

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवम सांसद गगन थापा नेकपा अध्यक्ष प्रचण्डमाथि खनिएका छन् ।

दुई दिन अघि बसेको संसद बैठकमा प्रचण्डले लोकतान्त्रिक प्रणाली छिटोछिटो विकास हुने प्रणाली होइन सम्बोधन गरेको दुई दिनपछि आज(शुक्रवार) बसेको संसद बैठकमा सांसद थापाले त्यसको प्रति उत्तर दिदै भने, ‘नाँच्न नजान्ने आँगन टेडो भनेको यस्तैलाई भन्छ। हुन त सरकारले चलाएको कामको ढंग नपुगेपछि यस्तो कुतर्क गर्न हामी बाध्य हुन्छौं।’

सांसद थापाले सरकारको बेढंगी कामको श्रृंखलाको पछिल्लो कडी कर्मचारी समायोजन अध्यादेश भएको आरोप समेत लगाए । उनले कर्मचारी समायोजन अध्यादेश तत्काल फिर्ता लिन पनि सरकारसँग आग्रह गरे । कर्मचारीहरु आन्दोलनमा रहेको बताउँदै थापाले देउवा सरकारले बनाएको कर्मचारी समायोजन ऐन कार्यान्वयन भएको भए कर्मचारी आन्दोलित नहुने दावि गरे ।

सांसद थापाले मन्त्रीको सुझबुझ नभएको अवस्थामा सेवा निवृत्त हुन लागेका एक जना सचिव केही बरिष्ठ कर्मचारीको स्वार्थमा घुम्दैगर्दा संसद छलेर अध्यादेश ल्याउने काम भएको आरोप समेत लगाए ।

सांसद थापाले चिन्ता कर्मचारीको नभइ जनताको सेवाको भएको बताउदै भने, ‘यहाँ विभेद र स्वेच्छाचारिता दुई वटा विषय छ। एउटै खालको कर्मचारी एकै पटक सेवा प्रवेश गर्दैगर्दा एउटा मुख्य सचिवसम्म जान पाउने अर्को कर्मचारी तलै रोकिनु पर्ने?’ भन्दै प्रश्न गरे ।

उनले कर्मचारी जहाँ खटाए पनि जानुपर्ने बताउदै अघि भने, ‘हामी प्रदेश र स्थानीय नयाँ सरकारको कुरा गर्दैछौं। खोइ प्रदेशको आयोग? खोइ प्रदेशको ऐन ? खोइ स्थानीय सरकारको ऐन ?’ भन्दै प्रश्न समेत गरे ।

Comments