जहाँ सरकार पुगेको छैन, त्यहाँ गैरसरकारी संस्था पुग्यो : सभामुख

काठमाडौं । सभामुख कृष्णबहादुर महराले गैरसरकारी संस्थाहरुले विकास निर्माणको काममा सरकारको परिपूरकको रुपमा योगदान पु¥याएको बताएका छन् । शुक्रबारदेखि काठमाडौंमा शुरु भएको गैरसरकारी संस्था महासंघको नवौं महाधिवेशन तथा राष्ट्रिय नागरिक सम्मेलनको उद्घाटन गर्दै सभामुख महराले यस्तो बताएका हुन् ।

‘गैरसरकारी संस्थाहरुले देशको विकास निर्माणको काममा सरकारको परिपूरकको रुपमा योगदान पु¥याएका छन्,’ उनले भने ‘नागरिक समाज तथा नागरिक संगठनहरुले शान्ति, मानवअधिकार, लोकतन्त्र र स्वतन्त्रताको रक्षकको रुपमा आफ्नो भूमिका खेलिरहेका छन् ।’

नागरिक संगठनहरुले गर्ने निगरानीले राज्यलाई जवाफदेही बनाउन महत्वपूर्ण भूमिका खेल्ने सभामुख महराले बताए । नागरिक संगठनहरुले राज्य र जनताबीच पुलको भूमिका खेल्न सक्ने बताउँदै सभामुख महराले भने ‘सरकार पुग्न नसकेका ग्रामीण समुदायसम्म सेवा प्रवाह गर्ने काममा होस् वा संकटको घडीमा स्थानीय समुदायहरुलाई राहत आपूर्ति गर्ने काममा नागरिक संगठन एवं गैससहरुले प्रभावकारी भूमिका निर्वाह गरेको मैले महसुस गरेको छु ।’

अबको विकास राष्ट्रिय स्वाधीनता, स्वाभिमान र आत्मनिर्भरतामा आधारित हुनुपर्नेमा जोड दिँदै महराले भने, ‘स्थानीय स्रोत साधन, सीप र श्रमको समुचित परिचालनमा गैरसरकारी संस्थाहरुले जोड दिएमा आत्मनिर्भरताको विकास हुने र आन्तरिक उत्पादन वृद्धि हुनेछ ।’

गैरसरकारी संस्थाको भूमिका निकै महत्वपूर्ण हुँदाहुँदै ती संस्थाहरुले गर्ने कामको आर्थिक पारदर्शिता र दिगोपनामाथि विगतदेखि नै प्रश्न उठ्दै आइरहेको प्रसंग उल्लेख गर्दै सभामुख महराले यस्ता बिषयमा सरकार र स्वयं गैरसरकारी संस्थाहरुले गम्भीर भएर सोच्न जरुरी रहेको बताए ।

The post जहाँ सरकार पुगेको छैन, त्यहाँ गैरसरकारी संस्था पुग्यो : सभामुख appeared first on YesKathmandu.com.

Comments