किन गएनन् ठाकुर र झा अध्यक्ष मण्डलको बैठकमा ? राजपामा आन्तरिक कलह चुलिँदै

काठमाण्डौ । राष्ट्रिय जनता पार्टी नेपालमा आन्तरिक कलह बढ्न थालेको छ । गत मंगलबारको राजपा अध्यक्षमण्डलको बहुमत निर्णयले महन्थ ठाकुरलाई हटाएर राजेन्द्र महतोलाई संयोजक तोकेको थियो । जुन निर्णय अहिले विवादमा परेको छ । पार्टीको संयोजक परिवर्तन भएसँगै राजपा अध्यक्षमण्डलको बैठक बहिष्कार गर्ने तहसम्म विवाद बढेको देखिन्छ ।

राजपा संयोजक महतोले सोमबारका लागि बोलाएको अध्यक्षमण्डलको बैठक स्थगित भएको छ । अध्यक्षमण्डलका सदस्यद्वय ठाकुर र अनिल झाले बहिष्कार गरेपछि बैठक स्थगित भएको स्रोतले बताएको छ । तर, अर्को पक्षले भने राजकिशोर यादव काठमाडौंबाहिर भएकाले बैठक स्थगित भएको दाबी गरेको छ । ‘अध्यक्षमण्डलका सदस्य राजकिशोर यादव बैठकको समयभित्र आइपुग्ने अवस्था नभएकाले बैठक स्थगित भएको हो,’ महासचिव केशव झाले  भने । ठाकुरनिकट नेता डा. सुरेन्द्र झाले भने यादवको अनुपस्थितिलाई बहाना बनाएर बैठक स्थगित गरेको बताए ।

बैठकमा पार्टीभित्र देखिएको विवादलाई व्यवस्थापन र सरकारलाई दिएको समर्थनबारे पनि छलफल गर्ने एजेन्डा थियो । तर, ठाकुर र झाले गत मंगलबारको अध्यक्षमण्डलका बहुमतले गरेको निर्णय नमान्ने अडानमा रहेका एजेन्डा अलपत्र परेको छ ।

The post किन गएनन् ठाकुर र झा अध्यक्ष मण्डलको बैठकमा ? राजपामा आन्तरिक कलह चुलिँदै appeared first on YesKathmandu.com.

Comments