१८ विधेयक पारित गर्दै संघीय संसदको अधिवेशन अन्त्य 

काठमाडौं । संघीय संसदको दोश्रो अधिवेशन बिहीबारदेखि समाप्त भएको छ। प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा सभामुख कृष्णबहादुर महराले राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउँदै आज बिहीबार रातीदेखि संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको दोश्रो अधिवेशन अन्त्य हुने घोषणा गरेका हुन्। नेपालको संविधानको धारा ९३ को उपधारा २ बमोजिम सरकारको सिफारिसमा राष्ट्रपतिले संसद अधिवेशन आह्वान र अन्त्य गर्ने व्यवस्था छ। दोश्रो अधिवेशन अन्तर्गत २०७५ बैशाख २३ गते आइतबार पहिलो बैठक बसेको प्रतिनधिसभा बैठक असोज ११ गते सम्म गरी जम्मा १ सय ३५ दिन चालु रह्यो।
यो अवधिमा संसदको ६९ दिनमा ७९ पटक बैठक बसेको थियो। यो अधिवेशनले चालु आर्थिक २०७५(७६ को सरकारको नीति तथा कार्यक्रम पास गर्नुको साथै कर प्रस्ताव बाहेक विनियोजन विधेयक माथि छलफल गरी सर्वसम्मपति पास गरेको थियो। यो अधिवेशनमा विभिन्न २६ वटा सरकारी विधेयक दर्ता भएकोमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ सम्बन्धित मन्त्रालयमा फिर्ता भएको छ। दर्ता भएका विधेयक मध्ये १८ वटा विधेयक संघीय संसदका दुवै सदनबाट पास भइसकेका छन्। त्यसैगरी ६ वटा विधेयक सम्बन्धित समितिमा विचाराधीन छन् भने राहदानी विधेयक प्रतिनिधिसभाबाट पारित भई राष्ट्रियसभामा सन्देश पठाइएको छ। राष्ट्रियसभामा उत्पति भई प्रतिनिधिसभामा पेश भएका विभिन्न ७ वटा विधेयक मध्ये ५ वटा विधेयक पारित भइसकेका छन्। बाँकी दुई विधेयक राष्ट्रियसभाबाट प्राप्त सन्देश टेबल भएको छ।
प्रतिनिधिसभामा नियमावलीमा भएको व्यवस्था अनुसार गत भदौ १८ गते बाट मन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम सुरु गरेको थियो। यो अधिवेशनले केही अध्यादेशलाई स्वीकृत गर्नुको साथै विभिन्न अन्तर्राष्ट्रिय सम्झौता सम्बन्धी प्रस्तावलाई अनुमोदन गरेको थियो। त्यसैगरी विभिन्न संवैधानिक निकायका वार्षिक प्रतिवेदन पनि यो अधिवेशनका बैठकमा पेश भएका थिए। यो अधिवेशनमा प्रतिनिधिसभाले महिला हिंसा विरुद्धको संकल्प प्रस्ताव सर्वसम्मति पास गरेको थियो।

Comments