चीन भ्रमण द्विपक्षीय हित र प्रदेशको विकासका लागि उपलब्धीपूर्ण

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफनो पहिलो चीन भ्रमण द्विपक्षीय हित र प्रदेशको विकासका लागि अन्तर्राष्ट्रिय लगानीको वातावरण वनाउन निकै उपलब्धीपूर्ण भएको बताएका छन्। साताव्यापी चीन भ्रमणपछि प्रदेश राजधानी फर्कने क्रममा शनिबार सुर्खेत विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री शाहीले हिल्सा–जमुनाहा द्रूतमार्ग निर्माणका लागि संभाव्यता अध्ययन गर्न प्रारम्भिक सहमति भएको जानकारी दिएका हुन्।

‘चाइना रेलवे कम्पनीसँग भएको प्रारम्भिक सहमति अनुसार सम्भाव्यता अध्ययन पछि प्रतिवेदन प्रदेश सरकारलाई बुझाउँछ।’ मुख्यमन्त्री शाहीले भने, ‘केन्द्र सरकारसँग सम्झौतापछि यो द्रूतमार्ग निर्माणको काम अगाडि बढ्नेछ।’ हिल्सा–जमुनाहा द्रूतमार्ग कर्णालीको विकास र समृद्धिको मेरुदण्ड भएको बताउदै मुख्यमन्त्री शाहीले प्रदेश सरकारको पहिलो प्राथमिकतामा रहेको बताए।

मुख्यमन्त्री शाहीले चीन भ्रमणमा कर्णाली एअरलाइन्स स्थापना, पर्यटन पूर्वाधारको विकास, जडीवुटी प्रशोधन, जलविद्युत विकास, आन्तरिक तथा प्रादेशिक विमानस्थल निर्माण लगायतका विषयमा पनि छलफल भएको जानकारी दिए। चीन भ्रमणका क्रममा दुई देशीय सीमा नाका निर्माणका वारेमा पनि चिनीया प्रतिनिधि मण्डलसँग छलफल भएको मुख्यमन्त्री शाहीले बताए। मुख्यमन्त्री शाही चार सदस्यीय टोलीसहित प्रदेश सरकार बनेपछि पहिलो औपचारिक विदेश भ्रमणका रुपमा चीन पुगेर फर्केका हुन्।

Comments