काठमाण्डौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले पुरानै ऐनका कारण पर्यटन उद्योग फस्टाउन नसकेको बताएका छन् ।
अहिले पनि ‘२०२९ सालका, २०४० सालका ऐनले नै पर्यटन क्षेत्रलाई गाइड गरिरहेकोले पर्यटन क्षेत्रमाथि उठ्न नसकेको अध्यक्ष दाहालको भनाइ छ । पुरानो ऐनले अहिलेको परिवर्तनलाई संबोधन गर्न सक्दैन’, नेपाल पर्यटक यातायात व्यवसायी संघको १५ औँ साधारणसभामा
अध्यक्ष दाहालले भने, ‘पञ्चायतकालीन ऐनका कारण पर्यटन उद्योग फस्टाउन नसकेको हो ।’
अध्यक्ष दाहालले आन्तरिक पर्यटनलाई प्रवर्द्धन नगरी बाहृय पर्यटकको संख्या मात्रै बढाउन खोज्नु उपयुक्त नभएको उल्लेख गरे । ‘पर्यटक भनेको गोरो छाला भएकाहरु मात्रै हो भन्ने ठान्नु भएन’, उनले भने, ‘आन्तरिक पर्यटन नफस्टाई बाहृय पर्यटन फस्टाउँदैन भन्ने भुल्नु हुँदैन ।’
अध्यक्ष दाहालले सरकारले लगानीकर्तालाई प्रतिफलको समेत सुनिश्चितता गर्न सक्नुपर्ने बताए । ‘व्यवसायीलाई प्रोत्साहन गर्ने, सुरक्षाको ग्यारेण्टी र प्रतिफलको सुनिश्चितता गर्न सक्नुपर्छ’, उनी भन्छन् ।
राज्यले व्यवसायीलाई दुहुनु गाईका रुपमा लिएर जति सक्दो दुहुने वा कमाउनै आएका हुन भनेर सकेसम्म निचोर्ने संस्कार त्याग्नुपर्ने प्रचण्डले बताए । उनले व्यवसायीले समेत सकेसम्म कर छल्न नहुने धारणा राखे ।
Comments
Post a Comment