‘मुटु रोगबाट बच्न व्यायाम जरुरी : चिकित्सक

काठमाण्डौ । विश्व मुटु दिवसका अवसरमा नर्भिक इन्टरनेशनल अस्पतालले आयोजना गरेको कार्यक्रमका वक्ताले मुटु रोगबाट बच्नका लागि खानपानमा सुधार तथा नियमित व्यायाम गर्नुपर्नेमा जोड दिएका छन् ।

उनीहरुले मुटुको रोग, रक्तचाप, मधुमेह रोग हुँदैमा खानपानमा ध्यान दिन सुझाव दिए । कार्यक्रमका प्रमुख अतिथि स्वास्थ्य राज्यमन्त्री सुरेन्द्रकुमार यादवले नेपालमा ८० प्रतिशत नागरिक गाउँमा बसोबास गर्ने तथा ८० प्रतिशत चिकित्सक काठमाडौँमा बस्ने गरेका बताएका छन । उनले १० हजार व्यक्ति बराबर दुई चिकित्सक रहेको बताए ।

राज्यमन्त्री यादवले जनताको स्वास्थ्यमा सुधार ल्याउन स्वास्थ्य क्षेत्रमा व्यापक परिवर्तन गर्नुपर्ने आवश्यकता औँल्याउँदै सरकार तथा निजी क्षेत्रद्वारा सञ्चालित स्वास्थ्य संस्था तथा अस्पतालसँग समन्वय गरी अघि बढ्नुको विकल्प नभएको प्रष्ट पारेका छन ।

मुटुरोगबाट ग्रस्त भई नर्भिक अस्पतालमा स्वास्थ्य लाभ गर्नुभएका शिक्षाविद् प्रा रत्नमान डंगोलले मुटु रोगी समयमा नै अस्पताल पुग्नसकेमा जीवन बचाउन सकिने उदाहरण आफू नै भएको बताए । एकहत्तर वर्षको उमेरमा आफूलाई हृदयघात भएको र ९७ प्रतिशत ब्लक भइसकेको अवस्थामा नर्भिक अस्पतालमा पुगेर उपचार गर्दा नयाँ जीवन पाएको उनले अनुभव सुनाए ।

अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंह, अध्यक्ष वसन्तकुमार चौधरी, चिकित्सक डा यादवदेव भट्ट तथा नियमित रोग जाँच गरिरहेका रोगी शङ्कर कृष्ण मल्ललगायतका वक्ताले मुटु रोगको रोकथाम तथा सरकार र स्वयं व्यक्तिको दायित्वबारे प्रकाश पारेका थिए । कार्यक्रममा राज्यमन्त्री यादवले उक्त अस्पतालमा उपचार गरी स्वास्थ्य लाभ गरिरहेका १० ज्येष्ठ नागरिकलाई मायाको चिनो प्रदान गरेका थिए ।

Comments