कांग्रेस उपसभापति निधिको आरोप- सरकारले नै बलात्कारीको संरक्षण गऱ्यो

दाङ । कांग्रेस उपसभापति विमलेन्द्र निधिले सरकारले नै बलात्कारीको संरक्षण गरेको आरोप लगाएका छन् । आइतबार बिहान प्रेस यूनियनले दाङको घोराहीमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै उनले दिनहुँ बलात्कारका घटना भइरहँदा पनि सरकारले बलात्कारीविरुद्ध कडा कदम चाल्न नसकेको बताए ।

कञ्चनपुरकी निर्मला पन्त लगायतका बालिकाको बलात्कार र हत्या गर्नेहरुलाई सरकारले नै बचाउन खोजेको उनको आरोप छ । ‘सशस्त्र द्वन्द्वका समयमा हरेक बिहान मान्छे मरेका समाचार सुन्नुपथ्र्यो, ठिक त्यसैगरी अहिले बलात्कार र हत्याका घटना सुन्नुपरेको छ,’ निधिले भने, ‘यस्तो विकराल अवस्था भइसक्दा पनि सरकारका जिम्मेवार मन्त्रीहरुले बलात्कारको घटनालाई गम्भिर रुपमा लिएका छैनन् । गैरजिम्मेवार कुरा गरिरहेका छन् ।’

अहिले देशमा कानुनी शासन ध्वस्त भइसकेको भन्दै उनले अराजकताले प्रश्रय पाइरहेको बताए । ‘गलत काम गर्नेहरुको नै प्रोत्साहन भैरहेको छ । सरकारले अराजकता नियन्त्रण गर्न सकेको छैन,’ उनले भने, ‘हरेक घटनामा सरकारको नियन्त्रण गुमिरहेको छ । बिधि अनुसार केही पनि चलेको छैन ।’

सरकार संघीयतालाई बिधि अनुसार सञ्चालन गर्न असफल भइरहेको र तीनै तहका सरकारबीच तालमेल हुन नसकेको उनले बताए । अहिले सरकार पक्षकै उच्च तहका नेताहरुले सरकारको तिव्र आलोचना गरेको कुरा नै सरकारी असफलताको गतिलो प्रमाण भएको विचार उनले व्यक्त गरे ।

‘हामीले केही भन्नै पर्दैन । सत्ता पक्षकै उच्च नेताहरुले नै देश बचाउन कोही आउनुपर्‍यो भनेर गुहार माग्ने अवस्था आएको छ,’ उनले भने, ‘सरकारको कमजोर धरातल देखाउन यो भन्दा ठूलो कुरा के चाहियो । यस्तो सरकारबाट के आशा गर्ने ?’

सरकारका गतिबिधिले संघीयता नै कमजोर हुने भन्दै निधिले सरकारले बिधिअनुसार प्रेदश सरकारलाई चलाउन नसकेको बताए । ‘अहिले सात प्रदेशमा मुख्य मन्त्री, मन्त्रीहरु त तयार भएका छन् तर काममा सन्तुलन र समन्वय देखिदैन,’ उनले भने, ‘यसले संघीयताको ठिक ढंगले कार्यान्वय भएको देखिदैन । संघीय सरकारले बिधि अनुसार सबै सरकारलाई चलाउन सकेको छैन ।’

कांग्रेसको बिधान संशोधन सम्बन्धी सुझाव संकलनका क्रममा निधि दाङ आएका थिए । पत्रकार सम्मेलनमा कांग्रेस केन्द्रीय सदस्यहरु रमेश लेखक, दिपक गिरी, सांसद् सञ्जय गौतम, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष गोविन्द पोखरेल लगायतको उपस्थिती थियो ।

Comments