कृषि विश्वविद्यालयमा फेरि लाग्यो ताला

चितवन । आठ वटा निजी कलेजलाई सम्बन्धन दिने निर्णय सरकारले खारेज गरे पनि कृषि तथा वनविज्ञान विश्वविद्यालयमा आन्दोलन सकिएको छैन । बीचमा केही सुसुप्त बनेको आन्दोलन फेरि सुरू भएको छ ।

विश्वविद्यालयका विद्यार्थी संगठनहरुले चितवनको रामपुरमा रहेको विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेका छन् । उनीहरुले लगाएको तालाका कारण विश्वविद्यालयको कामकाज प्रभावित बनेको छ । अखिल क्रान्तिकारीका इकाइ अध्यक्ष नगेन्द्र दहाल, अनेरास्ववियुका अध्यक्ष हेमराज कठायत, नेविसंघ सभापति मन्दिप पोखरेल र अखिल छैठौंका अध्यक्ष सुवास सापकोटाले संयुक्त विज्ञप्ति जारी गरी सरकारले गरेको निर्णय कार्यान्वयन नगरी निजी सम्बन्धनमा गरिएको सम्पूर्ण श्रृंखलावद्ध गतिविधिको विरोधमा विश्वविद्यालयको परीक्षा र शैक्षिक कार्यक्रमबाहेक सम्पूर्ण कामकारबाही बन्द गरिएको जनाएका छन् ।

विश्वविद्यालयको कार्यकारी परिषदले गत असार २० गते एक वनविज्ञानसहित आठ वटा निजी कलेजलाई सम्बन्धन दिने निर्णय गरेको थियो । त्यसविरुद्ध प्राध्यापक र विद्यार्थीले केन्द्रीय कार्यालयसहितका संकायहरु २७ दिन बन्द गराए । सरकारले विश्वविद्यालयको निर्णय मन्त्रिपरिषदबाट साउन १४ मा रद्ध गरेको थियो ।

विद्यार्थी संगठनले निजी कलेज सञ्चालकहरुले प्रशासनकै आडमा सर्वोच्च अदालतमा मुद्दा दायर गरेको दावी गरेका छन् । भदौ १२ गते भएको सुनुवाइमा प्रतिवादीको तर्फबाट विश्वविद्यालयको वकिलले निजी सम्बन्धनकै पक्षमा वकालत गरेको र सरकारको निर्णय कार्यान्वयनमा जिम्मेवार नबनेको आरोप विद्यार्थी संगठनले लगाएका छन् ।

अनेरास्ववियुका इकाइ अध्यक्ष हेमराज कठायतले विश्वविद्यालयलाई नै विपक्षी बनाइएको मुद्दामा डटेर लाग्नुपर्नेमा उल्टै निजी कलेजसँग पदाधिकारीहरुले हिमचिम बढाएको आरोप लगाए ।

निजी कलेजहरुका लागि समेत विद्यार्थी भर्ना गर्ने उद्देश्यले फर्म खुलाउने तयारी गरिएको उनको दावी छ । यसअघि यही मुद्दामा विश्वविद्यालय भित्रका प्राध्यापकहरुका दुई संगठन नेपाल राष्ट्रिय प्राध्यापक संगठन र नेपाल प्रगतिशिल प्राध्यापक संगठनले गत भदौ १९ गते विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालावन्दी गरेका थिए ।

सो तालावन्दी विश्वविद्यालयका उपकुलपति प्रा.डा. इश्वरीप्रसाद ढकालसँगको समझदारीमा खुलाइएको थियो ।

Comments