पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र एनआरटीबीच २–२ गोलकाे बराबरी

काठमाण्डौ । शहीद स्मारक ए डिभिजन लिग फुटबलको पहिलो खेलमा उपाधिको दावेदार मानिएको त्रिभुवन आर्मी क्लब एनआरटीसँग  २–२ गोलको बराबरीमा रोकिएको छ । सातदोबाटोकाे एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा राष्ट्रिय टोलीका स्ट्राइकरहरु भरत खवास, नवयुग श्रेष्ठ, जर्ज प्रिन्स कार्की लगायतको शशक्त अग्रपंक्ति रहे पनि आर्मीले एनआरटीबिरुद्ध अपेक्षाकृत प्रदर्शन गर्न सकेन ।

गएकाे सिजन ए डिभिजनमा बढुवा भएको एनआरटीले भने आजको खेलमा उत्कृष्ट टिमगेमको नमूना प्रस्तुत गरेको थियो । खेलको १२औं मिनेटमै त्रिभुवन आर्मीलाई स्तब्ध बनाउँदै एनआरटीले अग्रता लिएको थियो । राजेश परियारको पासमा पेनाल्टी एरियामा अनमार्क रहेका रोजितले शानदार गोल गर्न सफल भए ।

तर, ३८औं मिनेटमा आर्मीले पेनाल्टी पायो । एनआरटीका खेलाडीले डिबक्सभित्र ह्याण्ड गरेपछि रेफ्रीले आर्मीलाई पेनाल्टीको अवसर दिएका थिए । जसलाई सन्तोष तामाङले सदुपयोग गरी खेल बराबरीमा ल्याए । पहिलो हाफ एक एक गोलको बराबरी भए पनि दोस्रो हाफमा एनआरटीले पुनः अग्रता बनायो । ६४औं मिनेटमा एनआरटीका राजेश परियारले वान भर्सेस वानमा गोल गर्दै टिमलाई २–१ को अवस्थामा पुर्याए ।

तर, खेलको अन्तिम मिनेटमा आर्मीले डिबक्स भित्रबाट फ्रिकिक पायो । एनआरटीका गोलरक्षक अजित प्रजापतिले धेरै समय बल होल्ड गरेका कारण रेफ्री सुदीस पाण्डेले इनडाइरेक्ट फ्रिकिकको अवसर दिएका थिए । जसमा आर्मीका सन्तोष तामाङले गोल गरी आर्मीलाई अंकविहीन हुनबाट जोगाए । ए डिभिजन लिग अन्तर्गत आइतबार सरस्वती क्लब र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

Comments