काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको १४ औ महाधिवेशन टार्ने चलखेल शुरु भएको आरोप लगाएका छन् ।

राष्ट्रिय जागरण अभियान अन्र्तगत कैलालीको कैलारी गाउँपालिका भएको कार्याक्रममा वरिष्ठ नेता पौडेलले पार्टी संगठनका सबै काम ढिला ढिला गरेर महाधिवेशनलाई पछाडी धकेल्ने खेल शुरु भएको बताए । ‘पार्टीमा विजय गच्छदारको पार्टी मिलेपछि समायोजनाको काम गर्न ढिलाई गरिदै छ। संगठनलाई संविधानको संरचना अनुसार बनाउन ढिला गरिदैछ। यसले गर्दा महाधिवेशन टार्ने चलखेल भएको स्पष्ट भएको छ,’ पौडेलले भने।
पौडेलले पार्टीका भ्रातु संगठनको अधिवेशन आफ्नो पक्ष हार्ने डरले सभापति शेरबहादुर देउवाले रोकेको आरोप लगाए। उनले संवैधानिक परिषदको बैठकमा सहभागी नभएर पार्टी सभापति देउवाले ठूलो गल्ती गरेको स्पष्ट पारे।
पौडेलले भने, ‘संवैधानिक परिषदको बैठकमा विपक्षी दलको नेताको हैसियतमा नगएर पार्टी सभापतिले ठुलो गल्ती गर्नुभएको छ। यो विषयमा पार्टीभित्र समीक्षा हुन जरुरी छ। संवैधानिक आयोगमा प्रतिपक्ष दलको प्रतिनीधित्व नहुनु गम्भीर विषय हो। कि स्वतन्त्र मान्छे हुनुपर्यो। नभएर सवैको प्रतिनीधित्व हुनुपर्यो। सबैको प्रतिनिधित्व भएमात्र निष्पक्ष हुन्छ भनेर संवैधानिक परिषदमा विपक्षी दलको नेतालाई सदस्य हुने प्रावधान समेटिएको हो।’
कांग्रेसले गाउँगाउँबाट संगठन विस्तार गरेर कांग्रेसलाई ठूलो बनाउनुपर्ने उनको भनाइ थियो । पौडेलले निमुखालाई न्याय र विपन्नलाई आय भन्ने मूल मन्त्र तय गरेर कांग्रेस अगाडि बढ्न जरुरी रहेको आवश्यकता औंल्याए ।
Comments
Post a Comment