काठमाडौं । पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ आरुबोटे हत्याकाण्डका ‘शंकास्पद’ ३०–३५ वर्षीय मनबहादुर माखिम आत्महत्या गरेको अवस्थामा फेला परेका छन् । घटनास्थलभन्दा ८–१० किलोमिटर वर मनबहादुर झुन्डिएको भेटिएको गाउँपालिका अध्यक्ष अम्बर माखिमले बताए । आफू पाँचथरका डीएसपीसहित रहेको घटनास्थलबाट उनले एसकाठमान्डुलाई सुनाए ।

उनका अनुसार मनबहादुर बमबहादुुर फ्याकका ज्वाइँ हुन् । श्रीमतीसँग उनको सम्बन्ध राम्रो थिएन । श्रीमतीसँग डिभोर्सको प्रक्रियामा रहेको बुझिएको गाउँपालिका अध्यक्ष माखिमले सुनाए । बमबहादुरको परिवारमा चार र उनका अर्का ज्वाइँ धनराज शेर्माको परिवारमा पाँच जना बिहान हत्या गरिएको अवस्थामा फेला परेका थिए । त्यसपछि मनबहादुरलाई शंका गरिएको थियो ।
इलाका प्रहरी रवि (मिक्लाजुङ)का तेजनारायण यादवका अनुसार सोमबार राति १० बजे घटना भएको हो । ‘एक जना मान्छे खुकुरी लिएर आएर पहिले माथिल्लो घरमा पाँच जना अनि त्यसपछि तल्लो घरमा चार जनालाई काटेर भागेछ’, उनले भने, ‘एक घण्टाअघि खबर पाएअनुसार काट्ने जुन मान्छे छ त्यसको लास झुन्डिएको अवस्थामा फेला परेको छ रे । लासभन्दा १०–१५ मिनेट पर खुकुरी र लुगा भेटिएको अपुष्ट खबर आएको छ । डीएसपी सापको टोली उतैतिर लाग्नुभएको छ ।’
‘संघीय प्रहरीको टोली आइसकेपछि मात्र कागजी प्रक्रिया अघि बढ्छ’, उनले भने, ‘हामी घटनास्थल घेरा हालेर बसेका छौं’, उनले भने । उनका अनुसार धरानबाट हिँडेको संघीय प्रहरीको टोलीले पाँचथर जिल्ला टेकिसकेको छ, घटनास्थल पुग्न एक–डेढ घण्टा लाग्छ । मनबहादुरकी श्रीमती पनि घटनामा परेको हो कि होइन भन्ने यकिन भइनसकेको उनले सुनाए । ‘त्यस्तै भन्छन् क्यारे, हामी चिन्दैनौं, भित्र पसेका छैनौं’, उनले भने, ‘अनुसन्धानकर्ताहरू आएपछि टुंगो लाग्छ ।’
Comments
Post a Comment