राष्ट्रपति भण्डारी बेइजिङबाट ल्हासा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी चीनको राजकीय भ्रमणका क्रममा आज बेइजिङबाट ल्हासा पुगेकी छन्। राष्ट्रपति भण्डारी एयर चाइनाको विमानबाट ल्हासा आइपुगेकी हुन्।

राष्ट्रपति भण्डारीलाई ल्हासाको गोङ्गर विमानस्थलमा तिब्बत स्वशासित क्षेत्रका कार्यकारी उपाध्यक्ष चियाङ जीले स्वागत गरेका छन्।

भ्रमणका क्रममा राष्ट्रपति भण्डारी बेइजिङमा आयोजना भएको दोस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेशनमा सहभागी हुन उनी चीन पुगेकी थिइन् । सोमबार ग्रेट हल अफ द पिपलमा द्विपक्षीय बैठक भई नेपाल चीनबीच सात सम्झौतामा हस्ताक्षर भएको थियो।

ती सम्झौतामध्ये आर्थिक तथा प्राविधिक सहयोगको सम्झौतानुसार चीन सरकारले नेपाललाई जीवनस्तर उकास्न, विपत्तिपछिको पुनःनिर्माण तथा आधारभूत संरचनाका क्षेत्रमा आपसी सहमतिका परियोजनामा लगानी गर्न एक अर्ब आरएमबी बराबरको सहयोग उपलब्ध गराउने भएको छ ।

Comments