स्वतन्त्र र निष्पक्ष निर्वाचन गराउन आयोग प्रतिबद्ध- आयुक्त थपलिया

वैशाख । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्वतन्त्र र निष्पक्ष निर्वाचन गराउन आयोग प्रतिबद्ध रहेको बताएका छन् ।

मनोहरा विद्यानगर सेवा समाजले बधाइ तथा शुभकामना दिन आज काठमाडौंमा गरेको कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचनका बारेमा कुनै प्रश्न उठ्न नदिने गरी काम गर्ने प्रतिबद्धता जनाए ।

उनले कुनै पनि राजनीतिक दल, उम्मेदवार तथा मतदाताले निर्वाचनमा प्रश्न उठाउन नसक्नेसमेत दाबी गरे । समाज सुधारका लागि समुदायको भूमिका महत्वपूर्ण हुने भन्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले युवा पुस्तालाई पनि समाज परिवर्तनको संवाहक बन्न सुझावसमेत दिए ।

निर्वाचनमा निष्ठा र इमानभन्दा पैसाले काम गर्न थाल्यो भने त्यसले भ्रष्टाचार बढाउने र भ्रष्टाचारले शासनलाई कमजोर पार्ने भएकाले निष्पक्ष निर्वाचन नै पहिलो प्राथमिकता बनाइनुपर्ने तर्क गरे। उनले निष्ठावान र इमान्दार व्यक्तिले हार्ने र पैसावालाले चुनाव जित्ने अवस्थाको अन्त्य गर्ने दाबी गरे।

उनले निर्वाचनलाई मर्यादित, अनुशासित, निष्पक्ष र पारदर्शी बनाउनका लागि सबैको सहयोग आवश्यक रहेको भन्दै आवश्यक सल्लाह सुझाव दिन आग्रह गरे।

Comments