विप्लव समूहमाथि लगाइएको प्रतिबन्ध हट्दैन्- प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा आलीले नेत्रबिक्रम चन्द ‘विप्लव’ नेकपामाथि लगाइएको प्रतिबन्ध फिर्ता नहुने बताएका छन् । प्रधानमन्त्री ओली आतंकारी गतिविधिहरु नरोकेसम्म प्रतिबन्ध फिर्ता नहुने बताएका हुन् ।

मंलबार पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनताका नाममा बम पड्काउन, उदण्डता मच्चाउन नदिइने बताए । ‘कतिपयले प्रतिबन्ध फिर्ता लिनुपर्छ भनेका छन्। यो फिर्ता लिन लगाएको होइन। आतंकपूर्ण क्रियाकलाप, विध्वंसात्मक क्रियाकलाप र त्यस्तो विचार प्रवृत्ति अन्त्य गर्नका लागि लगाएको हो,’ उनले भने, ‘फिर्ता गर्ने भन्ने कुरा हुँदैन। बम पड्काउन, मान्छे मार्न प्रतिबन्ध लगाइएको हो।’

विप्लव समूहले हिंसाको नीति परित्याग गरेर हतियार बुझाउने बाटोमा गए मात्रै निष्कर्षमा पुग्न सकिने प्रधानमन्त्रीको भनाइ छ। ‘हिंसाको नीति परित्याग गरेर हतियार बुझाउने बाटोमा जानुभयो भने सेफल्यान्डिङ हुन्छ। निष्कर्षमा पुग्छ,’ उनले भने, ‘होइन भने सरकारले बचाउने होइन। नियन्त्रण गर्छ। कारबाही गर्छ। गिरफ्तारी गर्छ।’

सरकारले आतंकारी गतिविधि गरेको भन्दै विप्लव समूहमाथि गत २८ फागुनमा प्रतिबन्ध लगाएको थियो ।

Comments