मधेसी जनताको हितमा नचले प्रदेश २ को सरकार ढालेर बीचमै नेकपाले नेतृत्व लिन्छ– प्रचण्ड

काठमाडौं । प्रदेश २ सरकारले ब्यापक आर्थिक अनिमितता गरेको तथ्य बाहिर आइरहेका बेला नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार ढाल्ने चेतावनी दिएका छन् । प्रदेश २ सरकार मधेसी जनताको चाहना अनुसार नचलेको भन्दै प्रचण्डले आक्रोस पोखेका छन् ।

फोरम र राजपाको प्रदेश २ मा संयुक्त सरकार छ । वर्तमान २ नम्वर प्रदेशको सरकारले जन चाहना अनुसार काम नगरे बीचमै नेकपाले नेतृत्व लिने चेतावनी समेत प्रचण्डले दिए । काठमाडौंमा आयोजित एक कार्यक्रममा अध्यक्ष प्रचण्डले अहिले सम्म आईपुग्दा प्रदेश २ सरकार भ्रष्ट्राचार र बेइमानी गर्दै अघि बढेको बताए ।

‘अहिले यहाँसम्म आईपुग्दा झन् बढी भ्रष्ट्राचार र झन् बढी बेइमानी देखियो । पछिल्लो समय योजना निर्माणमा व्यक्ति–व्यक्तिको फोन नम्बर पनि रेड बुकमा छ भन्ने सुन्दा मलाई अर्चाय लाग्यो’, अध्यक्ष प्रचण्डले भने, ‘यहि स्थितिमा हुने हो भने बीचैमा सरकारको नेतृत्व लिनुपर्ने परिस्थिति आउन सक्छ ।’

अध्यक्ष प्रचण्डले प्रदेश २ सरकार मधेसी जनताको हित अनुकुल नचलेको समेत बताए । ‘मधेसमा अहिले सरकार जसरी चलेको छ, ठीक चलेको छैन, त्यो मधेसी जनताको हित अनुकुल चलेको छैन,’ काठमाडौंमा मंगलबार आयोजित एक कार्यक्रममा उनले भने, ‘तराई मधेसमा पनि कम्युनिष्ट पार्टीकै नेतृत्वमा सरकार बन्नुमात्रै त्यहाँको जनताको हितमा हुनसक्छ ।’

प्रचण्डले नेकपाले चाहेमा जुसुकै बेला पनि प्रदेश २ मा नेकपाको सरकार बन्ने बताए । ‘हामीले चाहने हो भने, त्यहाँ बिभिन्न खालको चलखेल गर्ने हो भने अहिले पनि सरकार बन्न सक्छ’ प्रचण्डले भने, ‘तर हामीले फेरि उहाँहरुले बनाएको सरकार राम्रो काम गरोस्, हाम्रो साथ हुन्छ भनेर भनेको हो ।’

संसदमा सबैभन्दा ठूलो दल भए पनि नेकपा सरकार बाहिर छ । अध्यक्ष प्रचण्डले भनेको जस्तो प्रदेश २ मा अहिले भएको सरकार ढालेर नेकपाको नेतृत्वमा बनाउन सत्तारुढ फोरम वा राजपामध्ये एकको समर्थन चाहिन्छ ।

Comments