नेकपा बैठकमा प्रचण्डको कटाक्षः माधव कमरेडको नेपाल ट्रान्जिट प्वाइन्ट नै भयो

काठमाडौं । सोमबार विहान नेकपा सचिवालय बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको थियो । बैठकमा प्रमुख एजेण्डा थियो–सरकारको नीति तथा कार्यक्रम । सरकारले ल्याउन लागेको नीति तथा कार्यक्रम बारे सुझाव दिन नेकपा सचिवालयको बैठक बोलाइएको थियो ।


बैठकमा सरकारले ल्याउन लागेको नीति तथा कार्यक्रमका बिषयमा छलफल भयो । निर्वाचनका बेला गरिएका प्रतिबद्धताका आधारमा नीति तथा कार्यक्रम ल्याउन नेता बामदेव गौतमले सुझाव दिएभने माधव नेपालले बालुवाटार जग्गा प्रकरणमा छानविन गर्न सरकारलाई आग्रह गरे ।
नेकपा पोलिटब्यूरो सदस्यहरुको नाम टुंगो लगाउने अर्काे प्रस्ताव थियो । समय अभाव देखाउँदै दुई दिनपछि बैठक बस्ने प्रस्ताव प्रधानमन्त्री केपी शर्मा ओलीले राखे । ओलीको प्रस्ताव आएलगतै वरिष्ठ नेता नेपालले दुई दिनपछि बस्ने बैठकमा आफु सहभागी हुन नसक्ने बताए ।
‘म बैठकलाई जानकारी पनि गराउँछु, आज साँझ नै म अमेरिका जाँदैछु । त्यहाँ भाइकी छोरीको विवाह छ’ नेता नेपालले यतिमात्र भनेका थिए अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कटाक्ष गरिहाले ।
‘माधव कमरेडको नेपाल ट्रान्जिट जस्तो भयो, हिजो एउटा देशबाट आउनु भयो आज अर्काेदेश जाँदै हुनुहुन्छ’ प्रचण्डको कटाक्षपछि एकछिन हाँसोको माहोल पनि बनेको थियो ।
आइतवार विहान वरिष्ठ नेता नेपाल वीआरआई सम्मेलन सकेर चीनबाट फर्केका थिए भने आज सोमबार साँझ उनी अमेरिका लाग्दैछन् । नेकपाभित्र सवैभन्दा बढि बिदेश यात्रा गर्नेमा नेपाल अग्रपंक्तिमा छन् ।

Comments