बालुवाटारको सरकारी जग्गा धितो राखेर ३० अर्ब कर्जा दिने बैंक धरापमा !

काठमाडौं । बालुवाटारको सरकार जग्गा अतिक्रमण गरी ब्यक्तिका नाममा पुगेपछि ३३४ कित्तामा चिरा परेको छ । कित्तामा चिरा परेको अधिकाँस सरकारी जमिन बैंकको धितोमा रहेको तथ्य खुलेको छ । सरकारी जग्गा ब्यक्तिका नाममा आएपछि तीव्रगतिमा किनबेच भएको थियो । किनबेच हुँदा ३३४ कित्तामा चिरा परेको हो । जग्गाधनीहरूले विभिन्न बैंकमा धितो राखेर करिब ३० अर्ब ऋण निकालेको तथ्य सार्वजनिक भएको छ । सरकारले जग्गा रोक्का राखेकाले बैंकको लगानीसमेत संकटमा परेको छ ।

अहिलेसम्म व्यक्तिको नाममा सारिएको ३३४ र सरकारसँग रहेको ८३ कित्ता जग्गा भेटिएको छ । मालपोत कार्यालय डिल्लीबजारले जग्गाको अभिलेख खोजिरहेको छ । भेटिएका जति जग्गाहरु रोक्का गर्न थालेको छ । व्यक्तिका नाममा सारिएका जग्गा रोक्का गर्ने क्रममा बैंकमा धितो राखिएको विवरण पनि खुलेको हो । ‘रोक्का गर्ने क्रममा अधिकांश जग्गा बैंकमा धितो राखेर पैसा निकालेको भेटिएको छ,’ मालपोत स्रोतले भन्यो, ‘यसबारे कार्यालयले मन्त्रालयलाई जानकारी गराइसकेको छ ।’

सरकारी जग्गा खरिद विक्रि गर्ने भूमाफियाले अधिकाँस जग्गा वैंकमा राखेर ठुलो मात्रामा ऋण लिएका छन् । बालुवाटारको जग्गा राखेर ऋण दिने बैंकहरु धरापमा पर्न थालेका छन् । जग्गा किन्नेहरुले अधिकाँस पूर्जा धितोका लागि विभिन्न वाणिज्य बैंकहरुमा राखेका छन् । ठूलो रकम इन्भेस्टमेन्ट बैंक, नबिल बैंक, प्रभु बैंक, सिद्धार्थ बैंक, एभरेस्ट बैंक, एनआइसी एसिया बैंक र एसबिआई बैंकबाट निकालिएको मालपोत स्रोतले जनाएको छ । सरकारी जग्गा धरौटी राखेर व्यक्तिले पैसा लिएको विषयमा नेपाल राष्ट्र भने बैंक बेखबर छ । राष्ट्र बैंकले कति जग्गा धरौटीमा राखेर कति रकम निकालिएको छ भन्ने जानकारी नभएको बताएको छ । राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले अवैध जग्गा धितो राखेर ठूलो रकम ऋण दिइएको भए त्यसले वित्तीय स्थायित्वमै समस्या ल्याउने बताए ।

Comments