बालुवाटार जग्गा प्रकरणः लहरो तान्दा पहरो खस्यो, बाबुरामपछि देउवा तानिए

काठमाडौं । वालुवाटार सरकारी जग्गा अतिक्रमणमा लहरो तान्दा भीआईपीको पहरो खस्न थालेको छ । सरकारी जग्गा अतिक्रमणमा नेकपा महासचिव बिष्णु पौडेललाई तान्दा तीन प्रधानमन्त्रीमाथी पहरो खसेको छ ।

नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, नयाँ शक्तिका संयोजन तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई बालुवाटार जग्गा प्रकरणमा मुछिएका छन् । उनीहरु प्रधानमन्त्री हुने बेला गरिएका निर्णयबाट उनीहरु तानिएका हुन् । देउवा प्रधानमन्त्री र गृहमन्त्री हुँदा नै बालुवाटार जग्गा प्रकरणमा संलग्न भएको प्रमाण भेटिएको छ ।

बालुवाटार जग्गा प्रकरणमा तानिएका तीन जना प्रधानमन्त्रीले छानविनको माग गरेका छन् । सोमबार प्रतिनिधिसभाको रोष्टमबाट कांग्रेस सभापति देउवाले बालुवाटार जग्गा प्रकरणमा सरकारले ढाकपेक्ष गर्न लागेको बताएका छन् । तर नयाँपत्रिकाले मंगलबार सार्वजनिक गरेको तथ्य अनुसार देउवा गृहमन्त्री हुँदादेखि बालुवाटार जग्गा अतिक्रमण शूरु भएको छ ।

२०४८ सालमा गिरीजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा देउवा गृहमन्त्री थिएँ । त्यो भन्दाअघि बनेको कांग्रेस संस्थापन नेता कृष्णप्रसाद भट्टराई नेतृत्वको सरकारले बालुवाटार जग्गा छानविन गर्ने जिम्मा गृहमन्त्रालयलाई दिएको थियो । भट्टराई सरकारको समय सकिएर गिरिजा प्रधानमन्त्री हुँदा देउवा गृहमन्त्री बनेका थिए । भट्टराई सरकारले दिएको कार्यआदेश गृहमन्त्रालयले कार्यान्वयन गरेको थियो । २३ पुस २०४९ मा गृहमन्त्रालयले सरकारी स्रेस्ता खारेज गरी सुनीति राणाका नाममा २८ रोपनी १४ आना जग्गा नामसारी गरिदिएको थियो । यही बिन्दुबाट सरकारी जग्गा ब्यक्ति नाममा जान लागेको हो ।

Comments