वायुसेवा निगमका क्याप्टेन लामा निलम्बित

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल एयरलाइन्सका पाइलट विजय लामालाई निलम्बन गरेको छ ।

नेपाल एयरलाइन्सको दुवई उडान रद्द भएपछि लामाले दिएको अभिव्यक्ति आपत्तिजनक रहेको भन्दै प्राधिकरणले लामालाई निलम्बन गरेको हो । एक सञ्चारमाध्यमलाई दिएको अन्तरवार्ताका क्रममा पाइलट लामाले आवेशमा आएर प्राधिकरणलाई चुनौति दिएपछि उनलाई बैशाख ४ गते स्पष्टिकरण सोधिएको थियो । उनको स्पष्टिकरण चित्त बुझ्दो नआएको भन्दै लाइसेन्स सस्पेन्स गर्ने निर्णय गरिएको जनाइएको छ ।

विभिन्न मिडियामा लामाले दिएको अभिव्यक्तिबाट गम्भीर सुरक्षा चासो उत्पन्न भएको भन्दै प्राधिकरणको सेफ्टी हेर्ने विभागले उनलाई जहाज उडानको अनुमति किन दिने भन्दै प्रष्टिकरण सोधेको थियो। पाइलट लामाले उक्त अन्तर्वार्तामा आफू तनाव, थकान, अस्वस्थ र अनिन्द्रामा रहेको भनेका थिए।

लामाले भने प्रवक्ताको रूपमा मिडियामा नियामक र एटिसीका बारेमा कमेन्ट गरेको बताउँदै आएका छन्। लामा नेपाल एयरलाइन्समा निकै लामो उडान अनुभव सम्हालेका पाइलट हुन् ।

Comments