सरकारले झूट प्रचार गर्ने बाहेक, अरु केही गर्न सकेन- सभापति देउवा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको १४ महिना बित्दा हेर्न लायकको कुनै काम नगरेको आोप लगाएका छन् ।

संसदको बजेट अधिवेशनको पहिलो बैठकमा बोल्दै सभापति देउवाले सरकारले झूट प्रचार गर्ने सिवाय अरु केही नगरेको आरोप लगाए । ‘सरकारले झूट प्रचार गर्नेबाहेक केही गर्न सकेको छैन,’ देउवाले भने, ‘संवैधानिक मूल्य र मान्यता विपरीत चलेको यो सरकारले प्रजातन्त्रको खुशी खोसेको छ र विकासका दृष्टिले पनि हामी पछि परेका छौं ।’

सभापति देउवाले शान्ति सुरक्षाको प्रत्याभूति दिन सरकार असफल भएको समेत बताए । ‘समृद्ध नेपाल र सुखी नेपालीको नारा ठूल–ठूलो स्वरले लगाउने सरकारले चालु आर्थिक वर्षको आठ महिनामा पुँजीगत खर्च बढाई विकास र निर्माणको कार्य अघि बढाउने छ भन्ने आशा थियो ।’ उनले भने, ‘तर, सरकारको उपलब्धि निराशाजनक रहेको छ ।’

देउवाले विगतका सरकारले सम्पन्न गरेका योजनाहरु उद्घाटन गरेर आफैले सम्पन्न गरेको हुँ भनि झूठ प्रचार गर्न बाहेक सरकारले उल्लेखनीय काम गर्न नसकेको आरोप लगाए । उनले नेपालकै लगानीमा बुढी गण्डकी परियोजना कार्यान्वयन गर्ने दिशामा अघि बढ्नु सट्टा बिना टेण्डर, विना प्रतिस्पर्धा ठूलो रकमको खर्चमा विदेशीलाई यो परियोजना सुम्पने प्रपञ्चमा सरकार लागेको बताए । देउवाले बुढी गण्डकी परियोजनाको भविष्य असुरक्षित हुन पुगेको समेत बताए ।

उनले तराईमा मात्र नभएर नागरिकताको समस्या पहाडमा पनि रहेको बताए । ‘संवैधानिक व्यवस्था अनुरुप कुनै पनि नेपाली नागरिक नागरिकताविहीन हुन नहुने कुराको सुनिश्चितता हुनुपर्छ,’ सभापति देउवाले भने, ‘तराईमा मात्र होइन, हिमाल पहाडमा पनि नागरिकताविहीन नागरिकहरू छन् । सरकारले संवैधानिक व्यवस्था अनुरुप यसको हल गर्नुपर्छ ।’

Comments