बिआरआईले नेपालमा लगानीको ढोका खोलेको छ- राष्ट्रपति भण्डारी

बेइजिङ । राष्ट्रपति विद्यादेवी भण्डारीले बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई)ले लगानीका थप अवसरका ढोका खोलेकाले यसबाट फाइदा लिन उद्यमी र व्यवसायीलाई आह्वान गरेकी छिन् ।

राष्ट्रपति भण्डारीले नेपालमा हाल कार्यरत बहुराष्ट्रिय कम्पनीले लगानीबाट नाफा कमाइरहेको र यसबाट नेपाल लगानीका लागि आकर्षक गन्तब्य हो भन्ने पुष्टि भएको पनि उल्लेख गरिन् । नेपाल चीन व्यापार तथा व्यवसाय मञ्च (नेपाल चाइना ट्रेड एण्ड बिजनेस फोरम) मा आज राष्ट्रपति भण्डारीले लगानी सुरक्षाका लागि व्यापक नीतिगत, संरचनागत सुधार गरिएको र वैदेशिक लगानी सहजीकरणका लागि चाँडै एकल विन्दू केन्द्र कार्यान्वयन गरिने र कर प्रणाली उद्धार र अनुमान योग्य बनाइने जानकारी दिइन् ।

उनले नेपालले सफलतापूर्वक लगानी सम्मेलन आयोजना गरेको र उक्त सम्मेलनमा चिनियाँ उद्यमीको सबैभन्दा ठूलो उपस्थिति रहेको उल्लेख गर्दै नेपाल सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको र चीनबाट पयर्टक सङ्ख्या गुणात्मक रुपमा वृद्धि होस् भन्ने चाहेको बताइन् ।

राष्ट्रपति भण्डारीले नेपाल र चीन मित्रता र सहयोगको लामो इतिहास बोकेको छिमेकी मित्र भएको तथा भूगोल, संस्कृति र परम्पराले दुई देशका जनतालाई जोडेको तथा चीन नेपालको सबैभन्दा विश्वासिलो तथा भरपर्दो विकास साझेदार भएको र नेपालको सामाजिक विकास प्रयासमा चीन सरकार तथा जनता निरन्तर सर्मथन र सहयोग दिएको उल्लेख गरिन् ।

उनले शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तका आधारमा दुई मुलुकको सम्बन्ध सञ्चालन हुँदै आएको र एक चीन नीतिप्रतिको नेपालको प्रतिबद्धता बलियो र अटल भएको तथा नेपाली भूमि चीनविरोधी गतिविधि हुन नदिइने कुराको सुनिश्चित गर्न नेपालले ठोस कदम चालेको जानकारी दिइन् ।

‘२०१५ को सेप्टेम्बरमा प्रगतिशील संविधान जारी गरेर नेपालले राजनीतिक मुद्दा टुङ्ग्याएको छ । राजनीतिक सङ्क्रणकालको अन्त्य गरेको छ र यो नेपालको इतिहासमै सबैभन्दा बलियो स्थिर सरकार हो ।’ राष्टपति भण्डारीले भनिन्, ‘सरकारसँग देश विकासका लागि स्पष्ट दृष्टिकोण, कार्यसूची छ । आधुनिक रुपान्तरण नेपालको प्राथमिकता हो । जनताका उर्लँदो अपेक्षा सम्बोधन गर्न समय खेर फाल्ने सुविधा छैन र ‘समृृद्ध नेपाल, सुखी नेपाली’ सरकारको सङ्कल्प हो । विकास प्रयासका केन्द्र नेपाली जनता रहेका छन् ।’

उनले नेपालमा लगानीमैत्री वातावरण भएको राजनीतिक स्थायीत्वले नीतिगत स्थिरता दिई लगानीकर्ताको सुरक्षालाई सुनिश्चित गरेको, विकासका चुनौती ठूला र बहुआयामिक भएको, मुलुक प्राकृतिक स्रोतले भरिपूर्ण भए पनि विकासका सम्भावित लाभ लिन पर्याप्त भौतिक स्रोत साधन र प्रविधिको नभएकाले छिमेकीलगायत अन्तर्राष्ट्रिय समुदायको समर्थन र सहयोगको आवश्यक भएको बताइन् ।

Comments