बेइजिङ । चीनको बहुचर्चित एवं महत्वाकांक्षी अन्तर्राष्ट्रिय परियोजना बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) को दोस्रो अन्तरराष्ट्रिय फोरममा नेपालले राखेको प्रस्ताव पारित भएको छ ।

बेइजिङमा शुक्रबार र शनिबार आयोजित बीआरआईको दुईदिने दोस्रो गोलमेच सम्मलेनमा नेपालका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीसमेतको आतिथ्य रहेको थियो । करिब ४० राष्ट्रका राष्ट्र प्रमुख वा सरकार प्रमुखहरुको सहभागिता रहेको दुई दिने सम्मलेनले ३८ बुँदे सामुहिक प्रतिवद्धता सार्वजनिक गरेको छ ।
शनिबार जारी ३८ बुँदे संयुक्त प्रतिवद्धताको परिशिष्टमा तीनवटा विषयलाई समेटेर विभिन्न ६४ वटा परियोजनाहरु उल्लेख गरिएका छन् । तीमध्ये इकोनोमिक कोरिडोर एवं कनेक्टिभिटीसँग सम्बन्धित ३५ वटा परियोजना छन्, जसको २३ औं नम्बर बुँदामा नेपालको प्रस्तावलाई समेटिएको छ ।
बीआरआईको दोस्रो बैठकले छनोट गरेका ६४ परियोजनाहरुमध्ये इकोनोमिक कोरिडोर एवं कनेक्टिभिटीसँग सम्बन्धित ३५ परियोजना छन् भने क्षेत्रीय बहुपक्षीय सहयोग अन्तरगत १४ वटा परियोजनाहरुलाई समेटिएको छ । त्यसैगरी सहभागीहरुका अन्य प्रशासंगिक प्रयासहरुलाई १५ वटा परियोजनामार्फत संयुक्त वक्तव्यको परिशिष्टमा समेटिएको छ ।
ट्रान्स हिमालयन बहुआयामिक कनेक्टिभिटीमा नेपाल र चीन जोडिएसँगै अब हिमाली क्षेत्रको पर्यावरण एवं जलवायु परिवर्तनसम्बन्धी परियोजनाहरुका साथै रेल्वे सञ्जाल विस्तारमा चीनले योगदान गर्ने विश्वास नेपाली पक्षले लिएको छ ।
सम्मेलनलाई सम्वोधन गर्ने क्रममा राष्ट्रपति भण्डारीले प्राचीन सिल्क मार्गको दक्षिणी हाँगाले समेटेको नेपाल अहिले बीआरआईसँग जोडिएकाले भूपरिवेष्ठित नेपालको कनेक्टिभिटी बिस्तार र विश्व बजारमा अर्थतन्त्रलाई एकीकरण गर्दै नेपालको आर्थिक रुपान्तरणमा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गरेकी थिइन् । त्यसैगरी जलवायु परिवर्तनले खतराको घण्टी बजाइरहेको र पृथ्वीले धान्नै नसक्ने गरी बढिरहेको उत्पादन एवं उपभोगको प्रवृत्तिले वातावरणीय विनाशलाई तीव्रता दिइरहेको भण्डारीेले बताइन् ।
चिनियाँ राष्ट्रपति सि जिनपिङसँगको भेटमा चिनियाँ पक्षले नेपालको जलवायु परिवर्तनको क्षेत्रमा चासो देखाएको राष्ट्रपति भण्डारीलाई उधृत गर्दै नेपाली अधिकारीहरुले जानकारी दिएका छन् ।
Comments
Post a Comment