‘मिस नेपाल’ श्रृङ्खला सामाजिक सेवामा सक्रिय, गृह जिल्लामा स्वाथ्य केन्द्र बनाउदैँ

काठमाडौं । ‘मिस नेपाल वल्ड २०१८’ श्रृङ्खला खतिवडा पछिल्लो समय समाज सेवामा पनि सक्रियरुपमा लागेकी छिन् । समाज सेवा नै गर्ने उद्देश्यले गृह जिल्ला मकवानपुरको विकट गाउँमा सामुदायिक स्वास्थ्य केन्द्र भवन निर्माण गर्न लागेकी श्रृङ्खलाले निर्माणधिन भवनको निरिक्षण समेत गरेकी छिन् । मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर–७ ताम्लाङमा उनि आफै अध्यक्षरहेको वान होम फाउन्डेसन मार्फत निमार्ण गर्न लागिएको भवनको निमार्ण कार्य पनि अन्तिम चरणमा पुगेको छ ।

गत वर्ष साउन २६ गते सिलान्यास गरिएको स्वास्थ्य केन्द्र भवनको निर्माण सकिने तर्खरमा रहेको भन्दै श्रृङ्खलाले कामदारलाई छिटो सक्न निर्देशनसमेत दिइन्। ‘भवनमा रंग लगाउन बाँकी छ। अनि मसिनो कामहरू मात्र बाँकी छ’, श्रृङ्खलाले भनिन्, ‘निर्माणको सबै काम लगभग सकियो। अब इक्युपमेन्ट (उपकरण) ल्याएर फिट गर्नुपर्छ।’

‘मिस वर्ल्डु प्रतिस्पर्धामा ‘उत्कृष्ट १२’मा परेर बाहिरिएकी उनले आर्किटेक्ट, पढाई, समाजसेवासँगै भावी योजना बनाइरहेको बताईन्। ‘सोचेर, सम्झेर अगाडि बढ्नुपर्ने भएको छ। त्यसबारे सोच्दैछु,’ श्रृङखलाले भनिन्। खतिवडाले रचनात्मक कार्यअन्तर्गत विकट क्षेत्रका विपन्न जनतालाई सहज सेवा पुर्योउने उद्देश्यले ६ कोठे स्वास्थ्य केन्द्र भवन निर्माण सकिन लागेकोमा हर्ष लागेको बताइन्।

‘आज म यत्ति धेरै खुशी छु। भनि साध्य छैन,’ आमा एवं प्रदेश सांसद मुनु सिग्देलसँग पुगेकी उनले खुशी साट्दै भनिन्, ‘काठमाडौंमा बसेर काम कति पुग्यो होला भनेर धेरै आत्तिएको थिए।’ उनले करिब ६० लाख रुपैंया खर्च लाग्ने स्वास्थ्य केन्द्र भवन निर्माणमा भौगोलिक विकटताका कारण निर्माण सामग्री ढुवानी र जनशक्तिको अभावले धेरै समस्या भएको बताइन् ।

विद्युत नभएको र सडकसमेत नाममात्रको रहेको विकट गाउँमा एक वर्षभित्रै स्वास्थ्य केन्द्र भवन निर्माण गर्न सफल भएकोमा उनले सहयोगीहरूलाई धन्यवाद समेत दिइन्। ‘अपांगमैत्री भवनका सबै कोठामा ह्वील चेयर आवतजावत गर्न मिल्छ’, उनले भनिन्।

तीनवटा शौचालयसमेत रहेको भवनको एउटा कोठालाई बालबालिका खेल्न मिल्ने बनाइनेछ। श्रृङखलाले स्वास्थ्य केन्द्र भवन निर्माण हुनासाथ गाउँपालिकालाई हस्तान्तरण गर्ने समेत बताइन् ।

उनले नर्स, अनमीलगायतको कर्मचारीको दरबन्दीका लागि स्वीकृति पनि पाइसकेको बताइन् । भवन गाउँपालिकालाई हस्तान्तरण गरेपनि स्वास्थ्य शिविर आयोजना र डाक्टरहरू भ्रमणमा ल्याउने काम भने गरिरहने उनको भनाइ छ।

Comments