बिद्यार्थी तोडफोडमा उत्रिएपछि वीरगञ्ज बजारमा तनावग्रस्त, एसपी घाइते

वीरगञ्ज । एसईई परीक्षा स्थगित भएपछि आक्रोसित बनेका बिद्यार्थीहरु तोडफोडमा उत्रिदा वीरगञ्ज बजार तनावग्रस्त भएको छ । सामाजिक विषयको प्रश्न पत्र आउट भएपछि परीक्षा रद्द गरिएको थियो । परीक्षा रद्दभएपछि बिद्यार्थीहरु आक्रोसित बनेका थिए ।

एसईईको पाँचौं दिन शुक्रबारका लागि तय भएको अनिवार्य सामाजिक विषयको प्रश्नपत्र बाहिरिएको थियो । तर प्रदेश नम्वर २ का मुख्यमन्त्री लालबाबु राउतले आफ्नो प्रदेशलाई बद्नाम गर्न प्रश्नपत्र आउट गरिएको बताएका छन् । उनले शिक्षामन्त्री गिरिराजमणी पोखरेलको राजीनामा पनि मागेका छन् ।

बिहान परीक्षा दिन परीक्षा केन्द्रमा पुगेका बिद्यार्थीहरुले अन्यौलमा पारेको भन्दै आक्रोस पोखेका थिए । पहिलो आक्रोस पोखेका बिद्यार्थीहरु पछि तोडफोडमा उत्रेका थिए । विद्यार्थीहरुको प्रर्दशनले उग्र रुप लिएपछि वीरगञ्ज बजार क्षेत्र तनावग्रस्त बनेको छ ।

वीरगञ्जको घण्टाघरमा ना१ख ७७८७ नम्बरको म्याजिक भ्यानमा तोडफोड गरिएको छ भने कलेज बिद्यालयमा पनि तोडफोड गरिएको छ । बिद्यार्थीले तोडफोड गर्न थालेपछि प्रहरीले केही बल प्रयोग गरेको थियो । प्रदर्शनमा उत्रिएका बिद्यार्थीलाई नियन्त्रणमा लिन खोज्दा झडप पनि भएको थियो । झडपका क्रममा पर्साका प्रहरी प्रमुख रेवती ढकाल घाइते भएका छन् । बिद्यार्थीले हानेको ढंगा उनलाई लागेको थियो ।

Comments