प्रदेश २ मा एसईईको विज्ञान विषयको परीक्षा रद्द, चैत २२ गते पुनः परीक्षा

काठमाडौं । प्रदेश २ मा बिहीबार सञ्चालन भएको विज्ञान विषयको परीक्षा रद्द भएको छ । परीक्षा अगावै प्रश्नपत्र बाहिरिएको सूचना पाएपछि विज्ञान विषयको परिक्षा रद्ध गरिएको राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयका नियन्त्रक विष्णुप्रसाद अधिकारीले जानकारी दिए ।


रद्द भएको परीक्षा आगामी चैत २२ गते हुने उनले जनाए। ‘२१ गते सबै विषयको परीक्षा सकिन्छ, त्यसपछि प्रदेश २ मा पुनः विज्ञान विषयको परीक्षा हुने समय तालिका तोकेका छौं,’ उनले भने। बोर्डको आकस्मिक बैठकले प्रश्नपत्र बाहिरएकोबारे छानविन गर्न ४ सदस्यीय टोली गठन गरेको छ।

बोर्ड सदस्य अमोदा श्रेष्ठको संयोजकत्वमा छानविन टोली गठन भएको छ। प्रदेश २ का दुई सय ६२ परीक्षा केन्द्रमा ७० हजार ५ सय ६८ विद्यार्थी परीक्षामा सहभागी थिए। सप्तरी जिल्लाको परीक्षा केन्द्रबाट प्रश्नपत्र आउट भएको प्रारम्भिक अनुमान गरिएको छ।

सप्तरीको परीक्षा केन्द्रमा लाखौं रकमको चलखेलमा एक दिन अगावै प्रश्नपत्र बाहिरिएको सार्वजनिक भएपछि परीक्षा रद्ध भएको हो । प्रश्नपत्रको समूह र प्रश्न नम्बर अनुसार परीक्षार्थीबाट खोसिएको चिटको प्रतिलिपि हुबहु मेल खाएको फेला परेको सशस्त्रका एसपी खेम थापाले बताए।

यस क्रममा एसएलपी मावि पत्थरगाढामा परीक्षा दिइरहेका सातजना परीक्षार्थी हुबहु उत्तर भएको चिटसहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। सो विद्यालयमा ज्ञानज्योति सेकेन्डरी इङ्लिस बोर्डिङ्ग अर्नाहा, जनता मावि कुशहा अर्नाहा, जानकी मोडेल मावि कल्याणपुर, जनता मावि ब्रह्मपुर, जनता मावि बेल्ही चपेना र जनता मावि नर्घोका दुई सय ७५ जना परीक्षार्थी सामेल छन्।

Comments