चितवन । नेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधिले नेपाल हिन्दूराष्ट्र बन्न नसक्ने बताएका छन् ।
नेपाल प्रेस युनियन चितवन शाखाले शुक्रबार गरेको पत्रकार सम्मेलनमा उनले आफ्नो दल पनि हिन्दूराष्ट्र हुनुपर्छ भन्ने पक्षमा नरहेको बताए । पार्टीकै महामन्त्रीले सार्वजनिक कार्यक्रममा हिन्दू राज्यको पक्षमा जनमत सङ्ग्रह गर्नुपर्ने बताउनुभएको छ नि भन्ने प्रश्नमा उपसभापति निधिले आफूलाई यसबारेमा कुनै जानकारी नभएको र पार्टी हिन्दूराष्ट्र हुनुपर्छ भन्ने पक्षमा नरहेको समेत बताए ।
राजतन्त्र सम्बन्धी अर्को एक प्रश्नको जवाफमा उनले भने, “नेपालमा राजतन्त्र आउँछ भन्ने कसैले दिवा सपना देख्छ भने पनि यो भ्रममा हाम्रो भन्नु केही छैन ।” लगानी सम्मेलन नेपाली काङ्ग्रेसकै नेतृत्वमा शुरु भएको भन्दै उपसभापति निधिले आजदेखि शुरु भएको लगानी सम्मेलन सफल पार्नुपर्नेमा जोडदिए ।
‘नेपालमा लगानीकर्ता आउन् र समृद्धिका विभिन्न योजनामा स्वदेशी तथा विदेशीले लगानी गरुन् भन्ने हाम्रो चाहना हो ।’ निधिले भने, ‘तर सरकारले जुन किसिमको गृहकार्य गर्नुपर्ने हो त्यो हुन नसकेको छैन ।’
पार्टीलाई सङ्गठित बनाएर लैजान आउँदो नयाँ वर्षसँगै राष्ट्रिय जागरण अभियान शुरु गरिने जानकारी दिँदै उपसभापति निधिले अनुशासन समितिले आफ्नो काम प्रारम्भ गरिरहेको र विधानबमोजिम नै सो समितिले आफ्नो अधिकार प्रयोग गर्ने बताए ।
Comments
Post a Comment