आठौं राष्ट्रिय खेलकुद ५ बैशाखदेखि

काठमाडौं । प्रदेश पाँचमा हुने आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता वैशाखमा हुने भएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बोर्ड बैठकले वैशाख ५ देखि ११ गतेसम्म नेपालगञ्जमा गर्ने मिति तय गरेको हो । यसअघि चैत महिनामै गर्ने भनिएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता सरेर वैशाखमा पुगेको हो ।

प्रतियोगिताको मितिलाई लिएर विभिन्न आशंका सिर्जना भएपछि मन्त्रालयले राखेपको बोर्ड बैठक बोलाएको थियो ।

यसअघि बसेको कार्यकारी समितिको बैठकले चैत २५ गते प्रतियोगिताको उद्घाटन गर्न प्रस्ताव गरेको थियो । तर पछिल्लो समय राखेप सदस्य सचिव केशवकुमार विष्ट चैत २७ मा उद्घाटन हुने बताएका थिए ।

नेपालगञ्ज रंगशालाको भिआईपी प्याराफिटको निर्माण कार्यसम्पन्न नहुदाँ प्रतियोगिताको मिति अनिश्चित बनेको थियो । तर अहिले भिआईपी प्याराफिटको काम तिव्र गतिमा अघि बढेको छ ।

प्रदेश नम्बर पाँचका खेलकुद विकास समितिका अध्यक्ष भीम वलीले प्रतियोगिताका केही खेल चैतमै सुरु हुने जानकारी दिएका छन् ।

चैत २५ भित्र सम्पुर्ण निर्माण कार्य सकिने राखेपले बताएपनि बोर्ड बैठकले बैशाखको पहिलो साता प्रतियोगिताको मिति तय गरेको हो ।

Comments