कप्तान मेस्सीको शानदार प्रदर्शनमा बार्सिलोनाको सहज जित

काठमाण्डौ । शीर्ष स्थानमा रहेको बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा सहज जित निकालेको छ । शनिबार भएको खेलमा बार्सिलोनाले स्पानियोललाई २–० गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनाको घरेलु मैदान नाउ क्याम्पमा भएको खेलमा बार्साको जितमा कप्तान लियोनल मेस्सी नायक बनेका थिए । बार्सिलोनाको जितमा दुवै गोल मेस्सीले गरेका थिए ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७१ औं मिनेटमा मेस्सीले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । त्यसपछि खेलको ८९ औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई २–० को जित दिलाए । स्पानियोलविरुद्ध दुई गोल गरेसंगै मेस्सीले यस सिजन ४० गोल पुरा गरेका छन् ।
जितसंगै शीर्ष स्थानको बार्सिलोनाले लिगमा १० अंकको अग्रता बनाएको छ । बार्सिलोनाले २९ खेलबाट ६९ अंक जोडेको छ । दोस्रो स्थानको एथ्लेटिको मड्रिडको ५९ अंक रहेको छ । ला लिगा अन्तर्गत नै अर्को खेलमा लेगानेसले गेटाफेलाई २–० ले हराएको छ । भने एथ्लेटिको मड्रिडले अलाभेसलाई ४–० गोल अन्तरले पराजित गरेको छ ।

Comments