गणतन्त्रका बिरुद्ध, हिन्दूराष्ट्र र राजतन्त्रका पक्षमा संघर्ष गर्न राप्रपाले तोक्यो बुद्धिमानलाई कमाण्डर

काठमाडौं । गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताको विरोध गर्दै संबैधानिक राजतन्त्र र हिन्दू राष्ट्रको एजेण्डा बोकिरहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले जनसंघर्षको कार्यक्रम तय गरेको छ । विकेन्द्रीकृत शासन प्रणाली, हिन्दू राष्ट्र र राजतन्त्रका पक्षमा संघर्ष गर्न राप्रपाले बरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङको नेतृत्वमा समिति गठन गरेको छ। तामाङको नेतृत्वमा गणतन्त्र र संघियता बिरोधी आन्दोलन चलाउने तयारी राप्रपाले गरेको छ ।
केही दिनअघि मेचि महाकाली अभियान सकेको राप्रपाले उत्तर–दक्षिण अभियान पनि सञ्चालन गर्ने तयारी गरेको छ । जनसंघर्ष नाम दिइएको यो अभियानको मुल उदेश्य गणतन्त्र विरोधी र हिन्दू राष्ट्रका पक्षमा रहेको छ । वरिष्ठ उपाध्यक्ष तामाङको नेतृत्वमा जनसंघर्ष समिति बनेपनि पार्टी अध्यक्ष कमल थापा, अर्का वरिष्ठ उपाध्यक्ष दीपक बोहोरा र बालाराम घर्तीमगर संघर्ष समितिमा बसेका छैनन् ।

उनीहरु सल्लाहकारको भूमिका रहने भएका छन् । नवगठित जनसंघर्ष परिचालन समितिको सदस्यहरुमा पार्टीका केन्द्रीय पदाधिकारी एवं सदस्यहरु, प्रदेश कार्य समितिको अध्यक्ष, विभागीय प्रमुखहरु, भातृ संगठनका प्रमुखहरु तथा काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका अध्यक्ष रहने प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले बताए ।

संविधानमा रहेको धर्मनिरपेक्षता खारेज गरी पूर्ण धार्मिक स्वतन्त्रतासहित नेपाललाई हिन्दुराष्ट्र घोषणा गर्न, राजसंस्था सहित सबै राजनीतिक शक्तिहरु अटाउने नेपाली संस्करणको मौलिक प्रजातन्त्र कायम गर्न अविलम्व सर्वपक्षीय गोलमेच सम्मेलन गर्न र संघीयताबारे जनताको प्रत्यक्ष अभिमत बुझ्न राष्ट्रिय जनमत संग्रह गर्न आवश्यक रहेको निस्कर्ष पनि राप्रपाले निकालेको छ ।

Comments