श्रीमान ! एनसेल कर छली फैसलाको पूर्णपाठ खोई ? करदाता कार्यालयले कर असुल्न सकेन

काठमाडौं । प्रधानन्यायाधीशमा सपथ लिएलगतै चोलेन्द्र शम्शेर जवराले लामो समयदेखि चलेको एनसेलबाट लाभकर विवादलाई किनारा लगाएर निकै चर्चा पाए । लाभांस कर तिर्न अटेरी गरिरहेको एनसेलबाट कर असुल्न प्रधानन्यायाधीशको इजलासबाट फैसला भएपछि राजनीतिक दलका प्रभावशाली नेताहरु समेतले जवराको प्रशंसा गरे । तर फैसला भएको ५० दिन पुगिसक्दा पनि सर्वाेच्च अदालतले फैसलाको पूर्णपाठ दिन सकेको छैन । पूर्ण पाठ नभएपछि सरकारलाई एनसेल कम्पनीबाट लाभांस कर असुल्न गर्न कठिन भएको छ । पूर्णपाठकै अभावमा सरकारले कर असुल्ने कुनैपनि प्रक्रिया थाल्न सकेको छैन ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर, न्यायाधीशहरू मीरा खड्का, आनन्दमोहन भट्टराई, विश्वम्भरप्रसाद श्रेष्ठ र टंकबहादुर मोक्तानको पूर्ण इजलासले २३ माघमा दूरसञ्चार प्रदायक कम्पनी एनसेल बिक्रीको पूँजीगत लाभकर आजियटा र एनसेलबाट असुल्न नेपाल सरकारलाई आदेश दिएको थियो । करका बिषयमा अदालतले के ब्याख्या गरेको छ त्यसको आधिकारिक जानकारी नभएका कारण करदाता कार्यालयले असुलीको प्रक्रिया अघि बढाउन सकेको छैन । एनसेल र टेलियासोनेरा कम्पनीसँग ६१ अर्ब रुपैया कर असुल्नु पर्ने थियो तर हाल जरिवानासहित यो रकम ७५ अर्ब पुगेको छ ।

कर असुलीका लागि प्रक्रिया अगाडी पूर्ण पाठ पर्खिरहेको करदाता कार्यालयका प्रमुख धनिराम शर्माले बताए । -पूर्ण इजलासले गरेको फैसलाको पूर्ण पाठ अझै आउन सकेको छैन, पूर्ण पाठ नआएसम्म असुलीको प्रक्रिया अघि बढाउन कठिन छ,-उनले भने ।

प्रधानन्यायाधीशसहितको पूर्ण इजलासले गरेको फैसलालाई सर्वत्र प्रसंसा गरिएको थियो । देशलाई ठगी गर्ने एनसेल कम्पनीबाट ७५ अर्ब लाभकर असुली हुनेभन्दै सामाजिक सञ्जालमा प्रधानन्यायाधीशको प्रसंसा गरिएको थियो । तर ५० दिनसम्म पूर्ण पाठ नआएपछि दलका नेताहरुले नै प्रश्न उठाउन थालेका छन् । -एनसेल कल छली प्रकरणमा सर्वाेच्च अदालतले गरेको महत्वपूर्ण फैसलाको पूर्ण पाठ लेखन कार्य सकियो वा चल्दैछ ? सम्बन्धित कार्यालय बाट कर असुलि कार्य अगाडी बडदै छ की छैन ?-समाजिक सञ्जालमा नेकपा केन्द्रीय सदस्य ठाकुर गैरेले प्रश्न गरेका छन् ।

उता सर्वाेच्च अदालतले भने पूर्ण पाठ तयारीकै चरणमा रहेको बताएको छ । तर कहिलेसम्म पूर्णपाठ तयार भइसक्छ त्यसको भने अझै एकिन सर्वाेच्च अदालतले गरिसकेको छैन ।

Comments