काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार राजनीतिक अधिकार प्राप्तिका प्रयासलाई संस्थागत गरेर सुशासन र विकासमा केन्द्रीत भएको बताएका छन् ।
आर्थिक उन्नतिका लागि लामो समय पर्खन नसकिने स्पष्ट पार्दै उहाँले ‘सुखी नेपाली, समृद्ध नेपाल’ को राष्ट्रिय आकाङ्क्षा प्राप्त गर्न तीव्र गतिमा बहुआयामिक विकास गर्नुको कुनै विकल्प नभएको बताए । उद्योग वाणिज्य महासङ्घद्वारा आयोजित आठौँ अन्तर्राष्ट्रिय व्यापार मेला, २०१९’ को आज उद्घाटन गर्दै उनले शान्ति सुव्यवस्था, सुशासनमार्फत विकासका गतिलाई तीव्रताका साथ अघि बढाइने बताए ।
नेपाल विकासका लागि प्रचुर सम्भावनायुक्त मुलुक भएको स्पष्ट पार्दै प्रधानमन्त्री ओलीले भने, “नेपाल प्राकृतिक स्रोत र खनिजले युक्त छ, अत्यन्त उर्वर भूमि र प्रकृति छ, विकासका लागि क्रियाशील युवा जनशक्ति छ, उपलब्ध स्रोत साधन र क्षमताको प्रयोगबाटै मुलुकको विकास गरिन्छ ।”
सरकारले मुलुकको विकासका लागि स्वदेशी लगानीलाई बढीभन्दा बढी प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्दै प्रधानमन्त्रीले भने, “देशभित्रको लगानी, साधनस्रोतको परिचालन र प्रविधिको प्रयोग तथा जनशक्तिको सदुपयोग गर्न सरकार गम्भीर छ । सकेसम्म हामी आफैँ सबल हुने साधन, स्रोत र सामथ्र्यको प्रयोग गर्ने हो । स्वदेशी पूँजी र प्रविधिको प्रयोगबाट समृद्धि ढिला हुने भएकाले विदेशी पूँजी र प्रविधि भित्र्याउनु परेको हो ।”
उनले ‘सुखी नेपाली र समृद्ध नेपाल’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न आन्तरिक पूँजी र प्रविधिको न्यूनता खड्किएकाले विदेशी पूँजी र प्रविधिको प्रयोग गरेर नेपालको विकासमा सरकार अघि बढेको बताए ।
बाह्य लगानीलाई आकर्षित र सुरक्षित गर्ने वातावरण सिर्जना गरी लगानीका लागि नेपाल उपयुक्त मुलुक हो भन्ने प्रमाणित गराउन सरकार क्रियाशील रहेको प्रस्ट पार्दै प्रधानमन्त्री ओलीले विदेशी लगानीकर्ताको लगानी प्रतिफलदायी, सुरक्षित, पूँजी र प्रतिफल आफ्नो देशमा लैजान सक्ने हेतुले कानूनी, प्राविधिक, व्यावहारिक वा प्रशासनिक व्यवधान सरलीकरण गरिएको बताए । ।
“विदेशी लगानीकर्ता आकर्षित गर्न कानून परिवर्तन गरेका छौँ, अनुकूल वातावरण निर्माण गरेका छौँ । प्रधानमन्त्री ओलीले भने, ‘लगानीकर्तालाई कुनै असुविधा नहोस् भनेर एकल सेवा बिन्दु (वान स्टेप सेन्टर) स्थापना गरेका छौँ । दोहोरो कर प्रणाली अन्त्य गर्न विभिन्न देशसँग समझदारी गरिएको छ ।’
विगत अब इतिहास भइसकेको सन्दर्भ उल्लेख गर्दै प्रधानमन्त्रीले सरकारले विकासको नयाँ दृष्टिकोण अघि सारेको बताए । “विगतका समस्या अब इतिहासका कुरा भए, ती आजका विषय होइनन् हिजोका विषय हुन्, हिजोका विषयमा अल्झिरहनुको कुनै अर्थ छैन । अब हामी अगाडि बढ्छौँ । अगाडि बढ्नका लागि आवश्यक पूर्वाधार, पूर्वशर्त सबै पूरा गछौ,” प्रधानमन्त्री ओलीले भने ।

Comments
Post a Comment