कांग्रेससँग सरकार भागबण्डा गर्ने पक्षमा छैन्- प्रधानमन्त्री ओली

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार सम्पन्न लगानी सम्मेलनबाट सरकार निकै उत्साहित भएको बताएका छन् ।

आईतबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले सम्मेलनमा एशियाली विकास बैँक, विश्व बैँकदेखि संसारका विभिन्न देशका प्रतिनिधिको उल्लेखनीय सहभागिताले पनि नेपालमा लगानी भित्रिनेमा सरकार विश्वस्त रहेको बताए ।

प्रधानमन्त्री ओलीले गत वर्षलाई सरकारले आधार वर्ष मानेर काम गरेको र यस वर्ष तीव्र विकास गर्ने वर्ष भएको बताए । प्रधानमन्त्री ओलीले आधार वर्षमा संरचना र कानून निर्माणमा समय खर्च गर्दा पनि नेपालमा आर्थिक वृद्धिदर ८ प्रतिशत हुनु निकै उपलब्धि हो भन्दै अब विकास तीव्र गतिमा हुन्छ भन्नेमा ढुक्क हुन आग्रह गरे ।

प्रधानमन्त्री ओलीले राजनीतिक दलका रुपमा दर्ता नभएका समूहलाई राजनीतिक दल भन्न नमिल्ने बताउँदै नेत्रविक्रम चन्द्र नेतृत्वको समूहले गरिरहेका अराजक गतिविधिलाई सरकारले प्रतिबन्ध लगाएको स्पष्ट पारे ।

अदालत र सरकार अलग अलग विषय भएकाले सञ्चारकर्मीलाई सोहीअनुसार बुझ्न आग्रह गर्दै प्रधानमन्त्री ओलीले सञ्चारकर्मीले सरकार र अदालतबीच झगडा लगाउने समाचार सम्प्रेषण गर्न नहुने बताए । ‘अदालतले पुरै प्रमाण नपुगे छाड्ने, त्यो कानुनी कुरा हो, सरकारले राजनीति नीति, कानून बमोजिम र संविधानबमोजिम काम गर्ने हो, तर थुन्ने छोड्ने कुरा अदालतको दृष्टिमा केही पुगेन भने छोडी दिन्छ ।’ उनले अदालत र सरकारबीचको अन्तरविरोध नदेखाउन आग्रह गरे ।

अर्को प्रसंगमा प्रधानमन्त्री ओलीले प्रतिपक्ष नेपाली कांग्रेसले संवैधानिक नियुक्तिहरुमा भागवन्डा खोजेको आरोप लगाए । उनले सरकार भाग नदिएका कारण कांग्रेस सरकारमाथि खनिएको पनि दावी गरे । उनले भने ‘औचित्य र गुण दोषको आधारमा मान्छेलाई जिम्मेवारी दिनुपर्छ, भागबन्डा गर्नुहुँदैन भन्नेमा म छु’ उनले भने ।

सरकारले निर्वाचन आयोगका प्रमु्ख आयुक्तमा सिफारिस गरिएका दिनेश थपलिया पनि आफनो पार्टीको नभएको बताए । कांग्रेसका कारण नै सरकारले गर्ने संवैधानिक अंगहरुमा गरिने नियुक्तिमा अहिले पनि सरकारले प्रयाप्त ठाँउहरु छाडेको जानकारी दिए ।

उनले अन्तर विरोध र द्वन्द्व बढाउने किसिमको समाचार सम्प्रेषण गर्नु राम्रो होइन भन्दै प्रधानमन्त्री ओलीले सञ्चारकर्मी सकारात्मक हुनुपर्नेमा सुझाव दिए ।

Comments