गाउँलाई आर्थिक केन्द्र बनाउनुपर्छः मुख्यमन्त्री गुरुङ

स्याङ्जा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पौरखी हातलाई गण्डकी प्रदेश सरकारले सधैँ सहयोग गर्ने बताएका छन् ।

गण्डकी प्रदेश सरकारद्वारा स्याङ्जाको गल्याङ नगरपालिका–१ स्थित मालुङगामा स्थापना गरिएको गण्डकी प्रदेशस्तरीय विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला कार्यालयको आज उद्घाटन गर्दै उनले प्रत्येक गाउँलाई आर्थिक केन्द्र नबनाएसम्म समृद्ध नेपालको निमार्ण गर्न नसकिने बताए।

मुख्यमन्त्री गुरुङले पौरख गर्न चाहने किसानका लागि प्रदेश सरकार सबै प्रकारको सहयोग गर्न तयार रहेको उल्लेख गर्दै पाँच वर्षभित्र कृषि उत्पादनलाई दोब्बर बनाउने योजनाका साथ प्रदेश सरकारले काम गरिरहेको जानकारी दिए । प्रदेश सरकार पहिलो पटक स्थापना भएकाले शून्य अवस्थाबाट काम गर्नु परेकाले सरकारले जग बसालिसकेको र अब जनताले काम देख्ने गरी सरकारले काम गर्ने पनि उनले बताए ।

मुख्यमन्त्री गुरुङले प्रदेश सरकारले कृषि र पर्यटनका माध्यमबाट जनतालाई बढीभन्दा बढी रोजगारी दिने अभियानका साथ अगाडि बढेको धारणा व्यक्त गरे ।

स्याङ्जाको मालुङ्गामा स्थापना गरिएको यो कार्यालयले प्रदेशभित्र भित्रिने अखाद्य वस्तुमा रोक लगाई गुणस्तरीय वस्तु मात्रै भित्रिने भएकाले आम जनताले स्वस्थ्य वस्तुको उपभोग गर्न पाउने बताउँदै उहाँले राजनीतिक लडाइँ सकिएको र अबको लडाइँ भनेको विकास र समृद्धिको लडाइँ भएको हुँदा यसलाई पूरा गर्नकै लागि जनताले कम्युनिष्ट पार्टीलाई जिताएकाले जसरी पनि विकास गर्नैपर्ने चुनौती थपिएको विचार व्यक्त गरे ।

Comments