काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गैरकानुनी हर्कत नगर्न पूर्वराजा ज्ञानेन्द्र शाहलाई चेतावनी दिइरहेका बेला राजावादी युवा समुहले भने गणतन्त्रका बिरुद्ध र राजतन्त्रका पक्षमा शक्ति प्रर्दशन गर्ने भएको छ । शाही युवा शक्ति नेपालले गणतन्त्रकाबिरुद्ध र राजतन्त्रका पक्षमा शक्ति प्रर्दशन गर्ने घोषणा गरेको छ । २१ चैतमा संघिय राजधानी काठमाडौंमा शक्ति प्रर्दशन गर्ने अध्यक्ष पशुपति खड्काले जनाएका छन् ।
बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी आफ्नो स्थापनाको ७ औं वार्षिकोत्सवमा गणतन्त्र बिरुद्ध सडकमा जाने निर्णय गरेको बताए । ‘गणतान्त्रिक व्यवस्थाको विरुद्ध र राजतन्त्र पुनस्र्थापनाको माग गर्दै काठमाडौंमा शक्ति प्रर्दशन गर्न लागेका छौ’ खड्काले भने । खड्काले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली गणतान्त्रिक व्यवस्थाका अन्तिम प्रधानमन्त्री हुने जिकिर मसेत गरे । उनले भने, ‘मैले यो कुरा पहिले पनि भनिसकेको छु, अब केपी ओली गणतन्त्रका अन्तिम प्रधानमन्त्री हुन् । मुलुकको राष्ट्रियता नै खतरामा परेको छ । त्यसैले राजा नआई देशको अस्तित्व जोगिँदैन् । शाही युवा शक्ति विगत एक दशकदेखि राजतन्त्रको माग गर्दै सडक संघर्षमा छ । हामीलाई अहिले लाखौं जनताको साथ र सहयोग छ ।’
खड्काले हत्या, हिंसा र युद्वको माध्यमबाट राजनीतिमा स्थापित भएकाहरुले नै मुलुकलाई एकतावद्ध बनाउने धरोहर र राष्ट्रनायकका शालिक ढालेर सुख–सयल गरेको आरोप लगाए । उनले थपे, ‘तर, शाही युवा शक्तिले ढालिएका शालिकहरु उठाएर देखाएको छ । हामी निरन्तर राजतन्त्र पुनर्स्थापनाको आन्दोलनमा जुटेका छौं ।’

Comments
Post a Comment