सञ्चारमन्त्रीको आक्रोस–आफ्नो समाचार हेरेर आफैंलाई लाज लाग्दैन ? अचम्म लाग्छ बा !

काठमाडौं । सञ्चारमन्त्री गोकुल बास्कोटाले आफ्नो समाचार हेरेर आफै लजित हुनेगरी समाचार नलेख्न आग्रह गरेका छन् । सरकारको विरोध गर्न पाइने छुट भएपनि हुँदै नभएका समाचार लेखेर आतंक फैलाउने र आफ्ना समाचार हेरेर आफै लजित हुने वातावरण नबनाउन उनले आग्रह गरेका छन् ।
‘कहिले काँही केही अनलाइन हेरयो भने मिडिया आतंक जस्तो लाग्छ’ मन्त्री बास्कोटाले राजधानीमा आयोजित एक कार्यक्रममा भने ‘यसबाट बास्तविक पत्रकारहरु समेत लज्जित हुन थालेका छन् ।’ उनले नेकपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अमेरिका भ्रमणलाई लिएर लेखिएका समाचारप्रति टिप्पनी पनि गरे । ‘भर्खरै सत्तारूढ पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको अमेरिका भ्रमणमा केकेसम्म समाचार छाप्नुभयो ? अचम्म लाग्छ बा, आफ्नो समाचार हेरेर आफैंलाई लाज लाग्दैन ? आफ्नो धोती खुस्किएको थाहा छैन सरकारमाथि ख्याउँख्याउँ ।’
उनले सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमाथी सरकारले प्रतिबन्ध लगाउन खोजेको समाचार झुटो भएको बताएका छन् । ‘सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमा प्रतिबन्ध लगाउन खोजिएको होइन, तर यहाँ सञ्चालन भएपछि नेपाली सरकारलाई कर तिर्नु पर्दैन ? उनले प्रश्न गरे ।

Comments