काठमाडौं । सरकारले संघिय संरचना अनुसार कर्मचारी समायोजनको सबै काम सकेको घोषणा गरेको छ ।
बिहिबार सामान्य प्रशासन मन्त्रालयले पत्रकार सम्मेलन गरी कर्मचारी समायोजनको सबै काम सकिएको बताएको हो । कर्मचारी समायोजन अनुसार सबैभन्दा बढी कर्मचारी स्थानीय तहमा परिचालन गरिएको छ। स्थानीय तहमा ६६ हजार ९ सय ८ जना कर्मचारी समायोजन गरिएको हो।
त्यसैगरी प्रदेशमा २२ हजार ७ सय ९७ र संघमा ४८ हजार ४ सय ९ जना कर्मचारी समायोजन गरिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ। संवैधानिक व्यवस्था अनुसार संघीय संरचनाका लागि सबै कर्मचारी समायोजनको काम सकिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले जानकारी दिए। उनले केही प्राविधिक कर्मचारीहरु अभाव भए करारमा लिएर काम चलाउन प्रदेश र स्थानीय तहलाई पत्राचार गरिएको पनि बताए।
सरकारले यही आर्थिक वर्षभित्र आवश्यक सबै कर्मचारीहरूको व्यवस्था गर्ने योजना पनि अघि सारेको छ। देशका विभिन्न स्थानीय तहमा कर्मचारीहरूको अभाव भइरहेको गुनासो आइरहेका बेला मन्त्री पण्डितले चालू आर्थिक वर्षभित्र आवश्यक सबै कर्मचारीहरूको व्यवस्था हुने गरी परीक्षा लिन लोक सेवा आयोगलाई निर्देशन दिएको पनि बताए। अब लोक सेवा आयोगले १५ देख २० हजार विभिन्न तहको कर्मचारीको लागि आवेदन खोल्ने बताइएको छ।
मन्त्री पण्डितले कर्मचारीहरुको व्यवस्थापनका लागि प्रदेश लोक सेवा आयोग गठन नभएसम्म संघीय लोक सेवा आयोगले नै संघ, प्रदेश र स्थानीय तहको कर्मचारी व्यवस्थापनका लागि परीक्षा लिने काम गर्ने पनि बताए।

Comments
Post a Comment